धादिङ । २०८१ सालको एसईई परीक्षा आगामी चैत ७ गतेदेखि सुरु हुँदै छ ।
एसइइको तयारीमा रहेका बिद्यार्थीहरुलाई सदरमुकाम धादिङबेशीमा रहेको त्रिपुरा पुस्तक पसलले उत्तर लेख्ने तरिका सिकाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
एसइइमा सहभागि विद्यार्थीले उत्तर जानेर पनि सही तरिकाले नलेखेका कारण अंक थोरै आउने गरेको तथ्यलाई मध्यनजर गर्दै त्रिपुरा पुस्तक पसलले विद्यार्थीहरुलाई सही तरिकाले उत्तर लेख्न सिकाईरहेको छ ।
हाल जिल्लाको छ स्थानहरुमा विद्यार्थीहरुलाई विज्ञान तथा प्रविधि र सामाजिक अध्ययन विषयको उत्तर लेख्ने तरिका सिकाइएको त्रिपुरा पुस्तक पसलका प्रोपाइटर नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो।
विज्ञान तथा प्रविधिमा डा.चिन्तामणि पन्थी र सामाजिक अध्ययनमा नारायणप्रसाद खतिवडाले जिल्लामा एसइइ तयारी गरिरहेका विद्यार्थीहरुलाई प्रश्न अनुसारको उत्तर लेख्ने र गुणात्मक र कलात्मक रुपमा प्रस्तुत गर्ने तरिकाहरु सिकाउनुुभएको श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार अहिलेसम्म निजि र सामुदायिक विद्यालय गरी धादिङबेसी, खानीखोला, बैरेनी, गजुरी, मलेखुु र सल्यानटारमा एक हजार ४ सयभन्दा बढी विद्यार्थीलाई सिकाइएको छ ।
एसइइ दिने तयारीमा लागेकाहरुले यस्तो कार्यक्रममा सहभागि भएपछि उत्तर लेख्ने शैलीमा सुधार गर्ने अपेक्षा गरिएको छ।