१. ‘महोत्सवहरूको मौसम’
शिशिर ऋतुको दोस्रो महिना फागुन, यस वर्ष नेपालका बौद्धिक तथा साहित्यिक वृत्तहरूका लागि उत्सवमय महिना बनेको छ । साहित्यिक महोत्सवहरूको बाक्लै संख्या देखिएको छ, यसपटक ।
देशका विविध क्षेत्रहरूमा, भाषा, कला, साहित्य, र संस्कृतिमाथि व्यापक विचार-विमर्श भइरहेका छन्, साहित्यिक संवादहरू फस्टाइरहेका छन् ।
भनौँ न, फागुनमासमा बौद्धिक तथा साहित्यिक जगतले एउटा सिर्जनात्मक तुनतुन गरिरहेको छ वा वैचारिक संवादमा आफूलाई सहभागी बनाइरहेको छ ।
फागुनमास- मूलत: प्रजातन्त्र दिवस, महाशिवरात्रि, सिलाच:ह्रे पूजा, ग्याल्पो ल्होछार र फागु पूर्णिमा जस्ता प्रमुख सांस्कृतिक तथा राजनीतिक पर्वहरू कारण रङ्गिलो छ ।
यसै बेला फुलेका लालुपाते, सिमल र कुसमले पनि गाढा रातो रङ प्रसारित गरिरहेका छन् । अझ, कठ्याङ्ग्रिदा हिउँदका दिन सकिएर न्यानो सुरु हुँदाको मिठास बेग्लै छ । घाम र छायाँ दुवै बरोबरी प्यारो लाग्दछ यतिखेर ।
कार्तिक र फागुन महिना मेरो ‘मेरो सर्वप्रिय महिनाद्वय’ हुन् । यस सर्वप्रिय महिनामा, पहिलो हप्तादेखि अन्तिमसम्म नै, नेपालभरि विविध साहित्यिक महोत्सवहरूको आयोजना भइरहनु वास्तवमै सुखद कुरा हो ।
फागुनमास ‘साहित्यिक महोत्सवहरूको याम’ बन्नु हर्षको कुरा हो । कसैकसैले यसलाई ‘महोत्सवहरूको मौसम’ भनेर न्वारन पनि गरिदिए ।
धुम्म गुम्सिएको हिउँदलाई हुत्त्याउन एक खेप झरी पनि हालसालै पर्यो र, विविध महोत्सवमार्फत बौद्धिक, साहित्यिक तथा सांस्कृतिक चेतनाको हावापानी पनि देशमा संचारित हुन् पुग्यो/भइरहेछ । यसै हाम्रा हिमशृंखलाहरूले ‘हिमाच्छादित हाँसो’ कहाँ हाँसेका हुन् र ?
र, यस मौसमको उल्लेखनीय पक्ष के छ भने, पहिले राजधानीमै केन्द्रित रहने साहित्यिक गतिविधिहरू देशभरि हुन् थाले, जसले क्षेत्रीय लेखक/कलाकार, राजनीतिज्ञ, पत्रकारहरूलाई मञ्च प्रदान गर्यो ।
अर्कोतर्फ, क्षेत्रीय/स्थानीय भाषा, कला, साहित्य, संस्कृति र तीसँग प्रत्यक्ष-परोक्ष जोडिन आइपुग्ने राजनीतिक, सांस्कृतिक, सामाजिक र आर्थिक अवयवहरूको पारस्पारिक सम्बन्धलाई मूल प्रवाहमा ल्याई पुर्याउने काम कमबेसी हुन् पुगेको छ । जसले, पछिल्लो दशकको नेपाली साहित्यिक हावापानीको सर्वप्रचलित शब्द ‘मोफसल’को शाब्दिक परिभाषा वा शब्द प्रयोग बेकार (बेकामे) भइसकेको औल्याई पनि दियो ।
यति भन्न के आनाकानी, ‘फलानाफलाना त मोफसलकै हुन नि’ भनेर जथाभावी विषवमन भइरहेको अवस्थामा काठमाडौं बाहिरका साहित्यिक महोत्सवहरूले मोफसलको र राजधानीको दरार मेटाई दिने काम गरेको छ । त्यो यस वर्षको ‘महोत्सवहरूको मौसम’ले अझ प्रतिबिम्ब गरिदियो ।
‘सिङ्गो देशको जिम्मा बोकेको अहम् बोकेर बसेको काठमाडौं’लाई लोप्पा खुवाईदिने काम गरेको यस मौसमका बारे चर्चा नगरी धरै पाइनँ । वा भनौँ, ‘राम्रा कार्यक्रम काठमाडौंमा मात्रै हुन्छन् वा, काठमाडौंकाले मात्रै गर्छ’ भन्ने भाष्य भत्किएकोमा दिलमा खुसहाल छाएको छ । बस, यति सदिच्छा छ कि, यी महोत्सवहरू अझ विविधिकारण हुँदै जाउन् ।
अझ, नेपालको बहुलताको ब्रान्डिङ भइरहोस् । यसप्रकारका साहित्य पर्यटनका मार्फत आममानिसमा समेत समाज, साहित्य र राजनीतिका बारे चासो बढेको छ । महोत्सवको प्रभावस्वरूप पाठक संख्या विस्तार भएको छ भने पठन संस्कृति विस्तारित हुन् खोज्दैछ ।’
यस महिनाका ९ वटा भन्दा बढी दिवा साहित्यिक महोत्सवहरूमा: कर्णाली उत्सव (सुर्खेत), कला साहित्य उत्सव (काँकडभिट्टा), काठमाडौं उत्सव, बकैया कला साहित्य महोत्सव (मकवानपुर) नेपाल लिटरिचर फेस्टिभल (पोखरा), बागमती साहित्य महोत्सव (धादिङ), र कोशी विचार उत्सव (विराटनगर) सम्पन्न भइसकेका छन्, भने टीकापुर साहित्य महोत्सव (टीकापुर) सुरु हुन् गइरहेको छ ।
यसका साथै, देशभर विभिन्न क्षेत्रहरूमा साहित्यिक तथा वैचारिक गोष्ठी, कविता तथा गजल वाचन, साहित्य प्रतियोगिता, गायन तथा नृत्य प्रस्तुति, स्थानीय झाँकी प्रदर्शनी, चित्रकला प्रदर्शनी, पुस्तक विमोचन तथा कृति चर्चा, स्रष्टा सम्मान जस्ता कार्यक्रमहरू पनि नित्य भइरहेका छन् ।
तर महोत्सवहरूको मौसमका कारण तिनले स्रष्टा नपाउने एवं पाठक/दर्शकको गणपुरक संख्या पुर्याउन सकिरहेका छैनन्, यस महिना । भनौँ, महोत्सवहरूमा नै कतिपय गायन तथा नृत्य प्रस्तुति, स्थानीय झाँकी प्रदर्शनी, चित्रकला प्रदर्शनी, पुस्तक विमोचन समाहित हुन् पुगेका छन्, जो सुन्दर कुरा हुँदै हो ।
चाहे निजी लगानीमा, संघीय वा प्रदेश सरकारको सहकार्यमा, वा वित्तीय संस्थाहरूको सहयोगमा आयोजना गरिएका हुन्, यी महोत्सवहरूको क्षेत्रीय तथा स्थानीय स्तरमा विस्तार हुनु नेपाली बौद्धिक परिदृश्यका लागि सकारात्मक संकेत हो ।
यस्ता पहलहरूले “फलानो विषयलाई फलानो तरिकाले बुझ्नुपर्छ” भन्ने सोचको विकास गर्दै बौद्धिक चेतना र विचार-विमर्शलाई फराकिलो बनाउने महत्त्वपूर्ण भूमिका खेल्नेछन् । किनभने, विषय र मुद्दाप्रति स्पष्ट र निर्भीक दृष्टिकोण राख्नु नै वास्तविक कला-साहित्यको सार हो ।
साहित्यिक महोत्सवहरू यस भूमिकाबाट पछि हट्न सक्दैनन्, न त उनीहरूलाई त्यो छुट नै छ । कुनै पनि कला-साहित्यले समय-स्थानको गर्भाशयमा रूप र आकार ग्रहण गर्ने हुँदा, यी महोत्सवहरूले ‘निरन्तर परिवर्तनशील र प्रतिक्रियाशील नेपाल’का राजनीतिक, सामाजिक, सांस्कृतिक, तथा मनोवैज्ञानिक आयामलाई खोतल्ने र उधिन्ने काम गरिरहुन् ।
साहित्य महोत्सवहरू ‘साझा चेतनावृद्धि’का सहायक बन्न सक्नुपर्छ, किनकि तिनको सार्थकता यहीं निहित छ ।
२.महोत्सवहरूको वृहहत्तर फैलावट कति ?
नेपालको साहित्यिक हावापानीलाई अझ व्यापक, सशक्त, र समावेशी बनाउने प्रयत्नस्वरूप सञ्चालनमा आएका यी ‘महोत्सवहरूको मौसम’को विस्तार (वृहहत्तर फैलावट) बारे गहिरो विमर्श र छलफल भइरहेको छ।
सामाजिक सञ्जालमा महोत्सवहरू केन्द्रित विचार, विश्लेषण, र टीकाटिप्पणीहरू पठनीय मात्र होइन, मननीय पनि छन् । यसकारण ‘महोत्सवहरूको वृहहत्तर फैलावट’का सन्दर्भमा केहि कुरा कहनु बेसै हुन्छ कि भन्ने लाग्दछ ।
यस महिनाका साहित्यिक महोत्सवहरूले देश–विदेशका ५ सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतलाई एकत्रित गर्दै विविध बहस र विचार मन्थनका मंचहरू सिर्जना गरेका छन् (गर्दैछन्) । यस प्रक्रियामा कतिपय व्यक्तित्वहरू दोहोरिएका (तेहरिएका) छन् भने, केही महत्वपूर्ण नामहरू छुटेका पनि छन् ।
तथापि, ‘सबै समेटिएका छैनन्, र सबै छुटेका पनि छैनन् ।’ ५ सय जति विचारशील मन-मस्तिष्कहरू साहित्यिक मञ्चहरूमा एकसाथ उत्रिएको यो पहिलो क्षण हुनुपर्दछ । यसमानेमा यो एक ऐतिहासिक क्षण पनि हो ।
यसअघि यतिविधि साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलाई भ्याई-नभ्याई भएको पंक्तिकारलाई थाहा छैन । पंक्तिकार स्वयं पनि यस भ्याई-नभ्याईमा रह्यो (यसबारे तल चर्चा गरिनेछ) ।
यसकारण, ५ सय हाराहारीको संख्यासहितको ‘महोत्सवहरूको मौसम’ले इंकित गरिरहेको नेपालको बौद्धिक भविष्यको नकरात्मकभन्दा सकारात्मक पक्ष नै बढी देखिन्छ ।
तर,महोत्सवका विमर्शक, प्यानलिस्ट, बहसका विषयवस्तु र बहसको प्रकृतिलाई लिएर भइरहेका टिप्पणीहरूबारे पनि हामी सचेत हुनुपर्नेछ ।
बौद्धिक विमर्श तथा साहित्यिक महोत्सवहरूमाथि उठेका प्रश्नहरूलाई ‘निषेध’ गर्नु यसको स्वाभाविक चरित्र होइन । बरु, प्रश्न, प्रतिप्रश्न, छलफल र निष्कर्ष नै यस्ता महोत्सवहरूको साझा विशेषता बन्नुपर्छ ।
अझ, अलिकता भन्दा-
महोत्सवहरूलाई समावेशी र सहभागितामूलक बनाउन गरिएका प्रयत्नहरू वा ‘आयोजकीय प्रचलन’माथि उठिरहेका टीकाटिप्पणीहरू स्वागतयोग्य छन्।
बहस सत्रहरूको संरचना, विमर्शकहरूको छनोट, कार्यक्रमको दोहरोपन तथा मोनोटोनस (एकनाशे) प्रवृत्तिबारे पाठकहरू-स्वार्थपरक वा निष्पक्ष जोसुकैले—जोडदार प्रतिक्रिया सार्वजनिक गरेका छन्, जसलाई आगामी वर्षहरूमा सुधार्न आवश्यक छ।
साथै, यदि बहसहरू केवल सञ्चारमाध्यमले निर्माण गरेको संकथन वा भाष्यकै वरिपरि सीमित रहने हो भने, महोत्सवहरूको वास्तविक आवश्यकता के हो भन्ने गम्भीर प्रश्न उठ्छ, जसलाई सम्बोधन गर्नैपर्छ ।
अझ, ‘एक घन्टाको छलफलबाट निष्कर्षमा पुग्न सकिँदैन’ भन्दै बिट मारिएका सयौँ बहसहरू हरेक वर्ष ‘निष्कर्षविहिन’ बन्दै जाने खतरा त बढेको छैन?—यस्तो प्रतिप्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ ।
यसैगरी, साहित्य महोत्सवहरूलाई ‘पपुलिस्ट’ बनाउने ध्याउन्नमा पहुँचमा रहेका या प्रचारित र प्रसारित गर्न सकिने राजनेता वा कलाकारको धुइरो नबढोस् भने खबरदारी झनै अभिनन्दीय छ ।
यी टिकाटिप्पणीहरूले साहित्यइतर वा साहित्यका विषय भनेर खुट्याउन खोजेको देखिँदैन (साहित्य इतर विषय हुन्छ जस्तो पनि लाग्दैन) तर, सबै विषयमा छलफल गर्ने-गराउने सुरमा साहित्य महोत्सवहरूले ‘कला-साहित्य’कै विषयमा चाहिँ बहस गर्न नछुटाउन भन्ने नरम आग्रह राखिएको देखिन्छ, जो झनै स्वागतप्रिय छ ।
महोत्सवहरूको संख्या वृद्धि वा महोत्सवहरूको वृहत्तर फैलावटलाई लिएर, उठेका प्रश्नहरूको वस्तुनिष्ठ समीक्षा गरिनु पनि उत्तिकै आवश्यक छ ।
राजधानी बाहिरका साहित्य महोत्सवहरूमा पनि केन्द्रीय साहित्यकार र कलाकारहरूको वर्चस्व देखिनुले, क्षेत्रीय स्रष्टाहरूलाई ‘मञ्च उपलब्ध नगराउने’ जोखिमता बढाएको त होइन ? यदि हो भने, यसले राजधानी केन्द्रित ‘रुढीवादी छवि’लाई नै प्रतिबिम्बित गरिरहनेछ, जसले साझा ज्ञान उत्पादन र प्रसारका लागि आयोजित महोत्सव (फेस्टिभल)को मर्यादा कायाम राख्न सक्ने छैन र विचारको आदानप्रदान तथा अभिव्यक्ति स्वतन्त्रको भरपूर अभ्यासलाई दुर्घटित तुल्याउनेछ ।
किनभने, लोकतन्त्रलाई प्रगाढता र तीव्रतालाई अझ विस्तार गर्नु नै यस्ता महोत्सवहरूको मूल मर्म हो ।
अझ, राजनीतिक तथा सामाजिक स्थायित्व खतरामा परेको तथा उत्पादन भन्दा उपभोक्तामुखी संस्कृति बढीरहेको समयमा, गाउँघर रित्तिइसकेका एवम रित्तिने जोखिम रहेको यस दशकमा, सोधिएका र दिइएका प्रश्न-उत्तरहरूले नेपाललाई ‘निराशावाद वा अतिरिक्त आदर्शवाद’ तर्फ धकेलिरहेको त् छैन ?
आफ्ना नागरिकको आयको सुनिश्चितता तथा आयमा वृद्धिको लागि देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने सरकारका प्रतिनिधिहरूलाई मंचमा बसाएर आयोजक (सहभागी वक्ता, प्यानेलिस्ट)हरूले महोत्सवहरूमार्फत आफ्नो आयको सुनिश्चितता गर्ने जोखिम त बढिरहेको छैन ? किनभने, यी महोत्सवहरूमा संघीय सांसद, प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधिहरूको उपस्थिति बढेको देखिएको छ र उनीहरूले लेखक, कलाकार, सम्पादक, पत्रकारका कठोर (सत्य) प्रश्नहरूको सामना पनि गरिरहेका छन् ।
तर, सत्ता (राजनीति) र प्रतिप्रक्ष (साहित्य)लाई एकै मन्चमा बसाएर ‘वैचारिक विचौलिया’हरू मौलाइरहेका त छैनन् ? यी प्रश्नहरूले नयाँ प्रश्नहरू जन्माइरहेका छन्, जसले थप गहिरो चिन्तन र बहसको माग गरिरहेको छ ।
साहित्यमा पक्षधरता जानिँदो वा नजानिँदो रूपमा प्रकट हुने भएकाले, यी महोत्सवहरूले त्यसको गहिरो चिरफार गर्न आवश्यक छ । ‘कसको साहित्य? कसका लागि साहित्य? वा कसको ज्ञान?’ जस्ता गम्भीर प्रश्नहरूलाई अझ प्रस्ट रूपमा उठाउन र छलफल गर्न महोत्सवहरू अझ मुखर हुन जरुरी छ । भनौं, सभ्य, शालिन र संस्कृतियुक्त समाजको निर्माण नै साहित्यिक महोत्सवहरूको यात्रा हो—र, यही नै तिनको गन्तव्य पनि हो । लेखक र पाठकको संगमस्थलका रूपमा स्थापित यी महोत्सवहरूको मूल धर्म नै विचार विनिमय हो । हुनुपर्दछ ।
धेरै भूमिका नबाँधी भन्दा- यी महोत्सवहरू कति प्रभावकारी रहे ? तिनले वास्तविक परिवर्तन वा गहिरो बहस सिर्जना गरे/गरेनन् ? राष्ट्रिय परिप्रेक्ष्यमा साहित्यको गाम्भीर्यतालाई सम्बोधन गर्न सके/सकेन? यस्ता सवालहरूमाथि गहिरो समालोचनात्मक दृष्टिकोण अझै पर्याप्त रूपमा विकसित भएको देखिँदैन, जो हुनु परम आवश्यक छ ।
यस्ता महोत्सवहरू केवल मनोरञ्जनका साधन मात्र होइनन्, तिनले सत्ता, अस्तित्व, वस्तु वा घटना-परिघटनाको सम्बोधन र अभिव्यक्तिसमेत गर्छन् ।
त्यसैले, महोत्सवहरूको प्रभावबारे गहिरो मूल्यांकन आवश्यक छ । तर, ‘महोत्सवहरूको मौसम’ले सिर्जनात्मकता, संवाद र पठन संस्कृतिको नयाँ सम्भावनाहरूको ढोका खोलेको विषयमा कुनै शंका रहेन, रहनु हुँदैन ।
३. ‘बागमती साहित्य महोत्सव- २०८१: एक अनुभव’
काठमाडौंस्थित कालिका पेट्रोल पम्पमा, वरिष्ठ चित्रकार हरिप्रसाद शर्माका चित्रहरूले सजिएको गाडीभित्र विष्णुप्रसाद आचार्य प्रतीक्षारत थिए । त्यहीँबाट मेरो ‘बागमती साहित्य महोत्सव–२०८१’ को यात्रा आरम्भ भएको थियो ।
उनी मलाई ‘भाइसाहेब’ भन्ने प्रिय सम्बोधनले बोलाउने गर्दछन् भने म उनलाई ‘दाजु’ सम्बोधन गर्दछु । अत: ‘दाजु र भाइसाहेब’को जोडी, दिउँसोको करिब ३ बजेतिर काठमाडौंबाट महोत्सव थलो धादिङतर्फ रवाना भयौँ ।
धादिङका डिभिजन वन अधिकृत रहेका ‘दाजु’ यस महोत्सवका संयोजक समेत हुन् । अझ, आफूलाई ‘वनमान्छे’ (वनको मान्छे) भन्न रुचाउने, अत्यन्त मुखाग्र र साहित्यअनुरागी यी दाजुलाई मैले चिन्तित र हर्षित दुवै मुद्रामा भेटेँ ।
चिन्ता र हर्ष दुवैको केन्द्रमा ‘बागमती साहित्य महोत्सव–२०८१’ रहेको बुझ्न मलाई समय लागेन। त्यसैले, सुरुमा उनलाई बधाई दिएँ र महोत्सवका लागि आफ्नो आतुरता र उत्साह व्यक्त गरेँ ।
त्यसपछि, मैले भनें, ‘धादिङमा यति धेरै साहित्यिक संस्था, साहित्यिक व्यक्तित्वहरू र प्राज्ञिक मनहरूको उपस्थिति हुँदाहुँदै पनि, तपाईँले निरन्तर चोइटिँदै, क्रमशः टुक्रिँदै गएको धादिङको साहित्यिक क्षेत्रलाई राष्ट्रिय महोत्सवमार्फत जोड्ने जुन प्रयास गर्नुभयो, त्यसलाई धादिङले कहिल्यै बिर्सने छैन ।
म त झन् बिर्सन दिनेवालै छैन ।’ मेरो स्वर अलि घमण्डी सुनिएको हुनसक्छ, तर त्यो मनबाट फुत्किएको निश्छल भाव थियो। त्यसमा कुनै अतिरिक्त अहमता थिएन भन्ने ठान्दछु । किनभने, धादिङको साहित्यिक, सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक खोजीखबरी गरिरहने क्रममा म बबुरोले पटकपटक प्रकाश पौडेल, डा. नवीनबन्धु पहाडी, डा.गाउँले बलदेव अधिकारी
, डा. नवराज लम्साल, देवीप्रसाद अधिकारि, राजाराम शर्मा, नरेन्द्र भट्ट, विनोद तमु लगायतसँग ‘हामी पनि केहि गरौँ न, गरिहालौँ न’ भनेर भेटैपिच्छे किचकिच गर्ने गरेको थिएँ । र, सबैमा यसप्रकारको महोत्सवको तीव्र चाहना हुँदाहुँदै पनि सो हुन् सकिरहेको थिएन । तर, यसपटक त्यो जुरेको थियो र यसलाई जुराउनेमा ‘दाजु’को भूमिका महत्त्वपूर्ण रहेको छ ।
यस यात्राले सतुंगल हुँदै थानकोट पार गरेपछि, हाम्रो ध्यान महोत्सवको पूर्वतयारी, धादिङका साहित्यिक एवं प्राज्ञिक मनहरूको उत्साहजनक सहभागिता, सेसनका विमर्शक र सहजकर्ताको व्यवस्थापन तथा कवि-गजलकार र लेखकहरूको समायोजनमा केन्द्रित रह्यो ।
यिनै छलफलहरूमै तल्लीन हुँदै हामी धादिङबेसी आइपुग्यौँ ।
यस यात्रामा, महोत्सवको पूर्वतयारीमा जुटिरहनुभएका डा. नवीनबन्धु पहाडी, बद्री दाहाल, प्रकाश पौडेल, लालकाजी श्रेष्ठ, राजाराम शर्मा, सिर्जना अर्याल, सीताराम अधिकारि, देवी प्रसाद अधिकारी, नवराज सापकोटा, भीमप्रसाद ढुंगाना लगायतका स्वानमधन्य व्यक्तिहरूको नाम पनि ‘दाजु’ले लिइरहनुभयो र उहाँहरूप्रति कृतज्ञ भाव पनि प्रकट गरिरहनुभयो ।
यी व्यक्तिहरूको उत्साहप्र्दक अधिकतम खटाइ र अविश्रान्त मिहेनतका कारण नै यस महोत्सव सुसम्पन्न हुन् सकेको रहेछ भन्ने प्रत्यक्ष अनुभूति ४ दिनको धादिङ बसाइका क्रममा मैले महसुस गरें ।
४.बागमती साहित्य महोत्सवको भव्यता:
सुखद कुरा, पछिल्लो ४/५ वर्षदेखि म निरन्तर साहित्यिक प्रतियोगितामा सहभागी कविको रूपमा, साहित्यिक महोत्सवहरूमा सहजकर्ता वा वक्ताको रूपमा वा साहित्यिक पत्रकारको रूपमा रोल्पा, मकवानपुर, चितवन, नेपालगन्ज, जनकपुर एवं काठमाडौं पुग्न भ्याएको रहेछु ।
त्यहाँ अतिथिको रूपमा पुगेको हुँदा, एउटा साहित्यिक कार्यक्रम सुसम्पन्न हुनुमा ककसको कति मिहेनत र परिश्रम हुन्छ भन्ने अनुभूत गरेको थिइनं तर, सो कुराको अनुभव यहाँ हुन् पायो ।
मामा (प्रकाश पौडेल)ले निम्तालु कवि एवं विमर्शकहरूको वासस्थान व्यवस्थापनको जिम्मा मलाई सुम्पीदिनुभयो, जसलाई मनग्ये गल्तिसहित मैले निर्वाह गरें । यसक्रममा महसुस भयो, कविता लेख्नुभन्दा कविता सुनाउने स्टेज एवं वातावरण व्यस्थापन गर्नु बेसी कष्टकर रहेछ ।
तर, कला-साहित्य सदैव मेरो रुचीको विषय भएकाले यसले शारीरिक थकान दिए पनि मानसिक थकान भने दिएन ।
विविध क्षेत्रहरूबाट आउनुभएको आदरणीय व्यक्तिहरू, अग्रजहरू, समकालीन साहित्यिक व्यक्तिहरूसँगको निकटता, प्रगाढता एवं पारस्परिकता अझ झाँगीन र फैलिन पायो, जसले हृदयको कमान अझै पनि बढाईरहको छ । एउटा मिठो काउकुती हृदयमा प्रसारित भइरहेको छ ।
लेख्नुपर्ने कुरा धेरै रहँदारहँदै पनि, यसलाई अलि संक्षेपीकारण गर्नु श्रेयस्कर ठान्दछु किनभने ‘बागमती साहित्य महोत्सव- २०८१’ का दौरान धादिङबेसीमा बिताएको चार दिन अवर्नीय छ । जति भनिएपनि भन्न बाँकी नै रहन्छ ।
महोत्सवका सेसन र कविता तथा गजल वाचनका बारेमा बताउनुपूर्व केहि मिठा अनुभवहरूको चर्चा गरौं । ती चाहे महेश पौडेल दाजुसँग पर्यासाहित्य र समालोचनाका विषयमा मध्यरातसम्म भएको छलफल होस्, वा डा. नवराज लम्साल दाजुसँग महाकाव्य र यसका प्रवृतिमा रहेर भएका चर्चा हुन् ।
चाहे त्यो, राजाराम शर्मा दाजुसँग भएको पत्रकारिता र साहित्य केन्द्रित विमर्श हुन् या धादिङ सिर्जना प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष सृजना अर्याल (काशिका) दिदिसँगका घनिभूत पद्य कविता केन्द्रित कुराकानी हुन् ।
सबका एक रङ छन्, एक सुन्दरता छन् । अझ, महोत्सवको दोस्रो दिनको बिहानीपख चंकी दाइ (अभय श्रेष्ठ) र श्री बाबु कार्की सरसँग जरेवारा, इजारा हुँदै माथिको देवलसम्म पुगेको अलौकिक क्षण हुन् वा, लालकाजी दाजुलाई ‘लौन दाइ फ्ल्याएर छिटो चाहियो भनेर गरेको गनगन होस् । वा, प्रा.डा दिनेशराज पन्त र प्रा.डा वीणा पौड्याललाई ‘तपाइँहरूपछि को भनेर ठाडै प्रश्न सोध्ने हिम्मत होस् या पहिलो दिन पुछारबजारदेखि सिरानबजार हुँदै नीलकण्ठ बालमन्दिरसम्मको र्यालीमा प्रदर्शित झाँकी, पन्चेबाजामा झुमेको मन होस्, यी सब अकथनीय, अवर्णनीय छन् ।
अझ, निर्मल पुरी भोगी, सुमी पोखरेल, विनोद बिम्बित, परि विक्रम, कल्याण, राजन अधिकारि, सुनाखरी, भैरवी लगातयकाका समकालीन साथि र अग्रज: सरिता तिवारी, कुमारी लामा, डा. सीता ढुंगाना, उत्तम कँडेल, केशवराज भट्ट, यात्री प्रकाश पाण्डे, प्रदिप रोदन, हेम प्रभास, कमल अर्याल, प्रोल्लास सिन्धुलिया, पुरु लम्साल, ओम रिजाल, निमेष निखिल, मिलन तिमिल्सिना, रमेश प्रभातसँग अनेकन् विषयमा भएका संवाद, वैचारिक उछलकुद र फट्याइँहरू (हल्लाबाजी पनि) अविस्मरणीय छन् ।
वा, हिमाल हेर्न मैधीकोट उक्लिएका जम्बो टोली (डा. विष्णुप्रसाद शर्मा, समीक्षा अधिकारी, कृष्णमुरारी अधिकारी, चन्द्रप्रसाद न्यौपाने, डा. नवीनबन्धु पहाडी आदि)सँग पृथ्वीनारायण शाह हुँदै मध्यकालिन नेपालको काठ व्यापारसम्मका यात्राकालिन चर्चा-परिचर्चा, दिगग्ज कलाकार हरिप्रसाद शर्मासँग क्रिक रिजोर्टमा घाम ताप्दै गरिएका अमर चित्रकार, बालकृष्ण सम, मनोजबाबु मिश्र आदिको चित्रलेखनको परिचर्चा पनि उत्तिकै अभूतपूर्व रहेको छ ।
एकपछि अर्को गर्दै, एकअर्कासँग खप्टिदै आइपरेको यी सुखहरूको बयान गरि साध्य नै छैन ।
यसबाहेक, महोत्सवका सेसनहरूले उठाएका विषयवस्तु र भएका गहन छलफलले मन-मष्तिस्कमा पारेको प्रभाव रोमाञ्चकारी छ । “साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको संवर्द्धन” भन्ने नारासहित् आयोजित यस महोत्सवले ९ वटा प्यानल डिस्कसन विभिन्न साहित्यिक, सांस्कृतिक र समसामयिक विषयहरूमा केन्द्रित रहेर छलफल गरेको छ ।
प्रतिष्ठित कविहरूको काव्य सन्ध्या एवं गजलकारहरूको गजल सन्ध्या, हरिप्रसाद शर्माका चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, स्थानीय संस्कृति झल्कने नृत्यसहितको र्याली एवं प्रस्तुति आदिका कारण महोत्सव भव्य बन्न पुग्यो । रम्य बन्न पुग्यो ।
बागमती महोत्सवको पहिलो दिन पुस्तक प्रदर्शनी आयोजना गरिएको थियो (दोस्रो दिन पानी परेका कारण रोक्नुपर्यो), जहाँ स्कुले बालबालिकादेखि चोलो र सारीमा (स्विटर लगाएर) आएका आमाहरूले पनि पुस्तकप्रति रुचि देखाए ।
सबैले पुस्तक किनेनन्, तर धेरैजसो पुस्तक सुम्सुम्याउँदै फर्किए । महोत्सवले पुस्तकप्रति रुचि राख्नेहरूका लागि मात्र होइन, नयाँ रुचि उत्पन्न गर्नका लागि पनि योगदान पुर्याएको अनुभव भयो ।
यसले पुस्तक पसल, बौद्धिक क्षेत्र र साहित्यप्रेमीहरूले उठाएका पुस्तकको बिक्रीको कमी र पठन संस्कृतिको अभावका गुनासोहरूलाई गलत सावित गरिदिएको जस्तो महसुस भयो ।
यसबाहेक, पक्तिकार स्वयंले पहिलो दिन- ‘नेपाली नारी लेखन: अनुभव र अनुभूतिको कसीमा’ विषयक सत्रमा सहजकर्ताको भूमिका निर्वाह गर्यो, जहाँ कुमारी लामा, सरिता तिवारी र डा. सीता ढुंगानाले भान्छा नारीवाद, भान्छाद्वारा उत्पादित ज्ञानको सम्बोधन, नारीवाद कि महिलावाद,नेपाली नारि लेखनमा छोपिएर आएका कुराहरू एवम लेखिनुपर्ने विषयवस्तुहरूलाई पर्गेल्ने प्रयास गर्यो ।
यसप्रकार अन्य सेसनहरूले पनि साहित्य र विविध विषयमा विचार मन्थन, लेखक-पाठक अन्तरक्रिया गर्ने काम गर्यो ।
अन्त्यमा,
महोत्सवमा साहित्य (विधागतरुपमा नै), इतिहास, समसामयिक राजनीति अलवा पर्यटन, समाज, संगीत, अधिकार, न्याय, रैथाने सीप तथा खाना, पत्रकारिता लगायत विविध विषयमा बहस तथा अन्तरक्रिया हुन् पर्ने थियो, त्यो भएन । पहिलो संस्करण भएकाले केहि त्रुटिहरू रहनु स्वाभाविक थियो।
विषयगत ज्ञानको दायरा फराकिलो बनाउने हिसाबले वा भनौँ, पठन संस्कृतिको विकास तथा पुराना लेखकबाट नयाँले सिक्ने अवसर दिने थलो बनाउने हिसाबले गर्नुपर्ने धेरै कामहरू अधुरै रहेका महसुस पंक्तिकारले गरेको छ ।
यसैगरी, साहित्यतर्फ नै कुरा गर्दा, दिवंगत साहित्यकारले गरेका मुख्य योगदान र कृतिको चर्चा, प्रकाशन गृह र समूहगत साहित्यिक गतिविधिबारे चर्चा जस्ता विषयहरू पनि अट्न सकेनन् ।
साहित्य समाजका गतिविधिसँग जोडिएको र राजनीति, अर्थलगायतले साहित्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले साहित्यइतरका कतिपय सत्रहरूको पनि अल्पता रह्यो ।
यद्यपि, स्वनामधन्य लेखक, इतिहासविद, संस्कृतविद, प्राध्यापक, कवि, गजलकार, पत्रकार र स्थानीयहरूको सक्रिय सहभागिताले महोत्सवलाई प्रभावकारी बनायो ।
बागमती साहित्य महोत्सवले आफ्नो पृथक पहिचान कायम गर्न इमानदार प्रयास गर्यो । यसबारे गुणात्मक समीक्षा र हार्दिक आलोचना भइरहेको छ, जो भइरहोस् ।
यसले ‘बागमती साहित्य महोत्सव (धादिङ साहित्य महोत्सव?)लाई अझ माझ्नेछ, चम्काउनेछ ।
अस्तु !
पंक्तिकार राजु झल्लु प्रसाद, बागमती साहित्य महोत्सव-२०८१ का सहभागी कवि तथा ‘नेपाली नारी लेखन: अनुभव र अनुभूतिको कसीमा’ विषयक सत्रको सहजकर्ता समेत हुनुहुन्छ।