धादिङ । प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपालले आड्रा नेपालको सहयोगमा खनियाबास गाउँपालिकामा सञ्चालन भैरहेको उत्थानशील जीविकोपार्जन तथा सुदृढ खाद्य सुरक्षा (रिलिफ) परियोजनाको स्थलगत अनुगमन गरिएको छ।
सोमबार गाउँपालिका, सहयोगि संस्था आड्रा नेपाल र सञ्चारकर्मीहरुको समूहले परियोजना अन्तरगतको विभिन्न कृषि तथा पशुपालन समुहमा निर्माण भएको बाख्राको खोर, जलवायु उत्थानशिल कृषि नर्सरी, लैंगिक समानता तथा सामाजिक समावेशीकरण र समुह परिचालनमा भएका कामहरुको अनुगमन गरेको प्रयास नेपालका फिल्ड संयोजक पवन प्याकुरेलले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा वडा नं. ५ को राक्चोक, देविस्थान र गर्दोम वडा नं. ३ को वृचेत र कुरी तथा वडा नं. २ को अक्थलीमा गठन भएका कृषि तथा पशुपालन समुहले गरेका कामहरु हेरिएको फिल्ड संयोजक प्याकुरेलले बताउनुभयो ।
अनुगमनका क्रममा किसानहरुले परियोजना राम्रो रहेको र परम्परागत रुपमा गर्दै आएको कृषि प्रविधिलाई जलवायु उत्थानशील प्रविधिमा रुपान्तरण गर्दा उत्पादनमा वृद्धि भएको अनुगमन समुहलाई जानकारी गराएका थिए।
अनुगमनका क्रममा खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले गाउँपालिका पनि कृषि क्षेत्रको विकासमा काम गरीरहेको बताउँदै सहयोगि हातको रूपमा परियोजनाले धेरै सहयोग गरेको बताउनुभयो।
उपाध्यक्ष तामाङले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै गाउँपालिका सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनु भयो।
किसानहरुसंग कुरा गर्दै उपाध्यक्ष तामाङले नयाँ र जलवायु उत्थानशील कृषि प्रविधिलाई अवलम्वन गरेर आय आर्जन बढाउन र जलवावायु परिवर्तनको असरलाई कम गर्ने कार्यमा सहयोग गर्न आग्रह गर्नु भयो। यसका लागि गाउँपालिका पनि किसानलाई सहयोग गर्न दृढ रहेको उहाँको भनाई थियो ।
अनुगमनमा गाउँपालिकाका उपाध्यक्ष सहित प्रशासन सहायक, कृषि तथा पशुसेवा शाखाका प्राविधिकहरू, प्रयास नेपालका अध्यक्ष विरबहादुर श्रेष्ठ, आड्रा नेपालका कार्यक्रम अधिकृत दिनेशचन्द्र ढकाल,वित्त तथा प्रशासन अधिकृत सुवास अर्याल, परियोजनाका विभिन्न जिम्मेवारीका कर्मचारीहरु र सञ्चारकर्मीहरु सहभागी थिए।
अनुगमनमा किसानहरुसंग परियोजना सञ्चालनको एक वर्षमा भएका कामहरु, समस्या र चुनौतिहरु बारे छलफल भएको थियो। रिलिफ परियोजना गंगाजमुना गाउँपालिकामा पनि सञ्चालन भैरहेको प्रयास नेपाल धादिङले जनाएको छ।