धादिङ। सिद्धलेक गाउँपालिका वडा नम्बर २ नलाङस्थित कफी डाडा नजिकै रहेको चतुरमाईदेवी मन्दिर मुनि भगवान शिवपार्वती र गणेशका मूर्ती भएको शिला भेटिएको छ।
गत फागुन २८ गते चतुरमाईदेवी मन्दिरको करिव ५० मिटर तल स्थानीय नेत्रमान श्रेष्ठ र टोप नारायण श्रेष्ठले गोठालो जाँदा उक्त शिवपार्वती र गणेशको मुर्ति भएको शिला फेला पारेको स्थानीय समाजसेवी रामशरण श्रेष्ठले जानकारी दिनुभयो।
उक्त शिला यसअघि पहिले त्यहाँ नभएको र त्यो दिन एक्कासी देखा परेको श्रेष्ठले बताउनुभयो।
नलाङको चर्चित चतुरमाईदेवी मन्दिर परिसरमा एक्कासी ऐतिहासिक र धार्मिक महत्वका शिला भेटिएपछि स्थानीयहरुले आइतबार पुजापाठ गरी बाजागाजा सहित चतुरमाईदेवी मन्दिरसगै स्थापना गरिएको समाजसेवी श्रेष्ठले बताउनुभयो ।
सो ठाउँमा अहिले पूजाआजा गर्नेहरुको घुँईचो लाग्ने गरेको उहाँको भनाई छ । यसको प्रचारप्रसारका लागि स्थानीय सरकारसंग माग समेत गरिएको बताउनुभयो ।
वि.सं. १९४६ सालमा दिप बहादुर शाहको श्रीमती र जङ्ग बहादुर राणाको ठाँइली छोरी दुर्गा कुमारी शाह सिद्धलेक–२ (साविकको नलाङ गा.वि.स. वडा नं.४) आप्री हटियाको माथि डाँडामा घुम्दै जाँदा आँप र काप्राको ठुलो रुख भएको र काप्राको घाँस काट्न लाग्दा काप्राको रूखबाट रगत जस्तो तरल पदार्थ निस्केपछि देवीको बास छ भनि दिप बहादुर शाह र दुर्गा कुमारी शाहको अगुवाइमा सबै स्थानीय मिलि वि.सं. १९४७ साल माघ ८ गते चतुरमाइदेवी मन्दिर स्थापना भएको श्रेष्ठको भनाई छ।
स्थानियको भनाइ अनुसार मानिसहरूले कुनै नयाँ काम सुरुवात गर्दा यस मन्दिरमा पुजापाठ गरी सुरु गर्ने चलन रहेको छ।
मानिस तथा पशुपन्छीहरू विरामी भएमा यस मन्दिरलाई सम्झिदै भाक्कल गर्ने चलन रहेको र भाक्कल गरे पछि बिरामी भएको मानिस तथा पशुपन्छीहरूमा सुधार हुने भन्ने धार्मिक विश्वास रहेको छ।
यस मन्दिरको पुजारी स्थापना कालदेखी नर बहादुर पौडेलको परिवार भएको तर पछि उहाँको परिवारहरू बसाइ सरेपछि अहिले लिला बहादुर शाह पुजारी रहेको समाजसेवी श्रेष्ठले बताउनुभयो ।
मन्दिरको शिरमा शेष नाग रहेको र अहिले पनि नाग पूजा भइरहने उहाँको भनाई छ।
यस मन्दिरमा हरेक वर्षको मंसिर महिनाको पञ्चमीमा जात्रा लाग्ने गर्दथ्यो तर केही बर्षदेखी जात्रा रोकिएको श्रेष्ठले बताउनुभयो ।
तस्विर:रामशरण श्रेष्ठ