२०८१ फागुन २८, बुधबार

“तामाङ आन” पुस्तकको बिमोचन

  • धादिङ आवाज
  • २०८१ फागुन ३, शनिबार
“तामाङ आन” पुस्तकको बिमोचन

धादिङ । धादिङको खनियाबास गाउँपालिका दार्खा निवासी बाबुराम फ्युवाद्वारा लिखित उखानहरुको संग्रह “तामाङ आन” विमोचन गरिएको छ।

शनिबार धादिङबेसीमा एक कार्यक्रमका बिच लाप्साङकर्पो हिमाल क्षेत्र आसपास बसोबास गर्ने तामाङ समुदायले प्रयोग गर्ने सकारात्मक उखानहरुको संग्रह “तामाङ आन” विमोचन गरिएको हो।

फ्युवाले धादिङको उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्नेहरुले प्रचलनमा ल्याएका उखानहरु संकलन गरेर पुस्तक प्रकाशन गर्नु भएको हो।

रुवीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङ, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा, खनियाबास गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ लगायतले सामुहिक रुपमा पुस्तकको बिमोचन गर्दै यसले तामाङको भाषा संस्कृति संरक्षण गर्न योगदान गर्ने बताउनुभयो ।

नेपाल तामाङ घेदुङ धादिङका अध्यक्ष दिपक तामाङले यस पुस्तकले तामाङ जातिको भाषा र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

५२ पृष्ठको “तामाङ आन” उखान संग्रह पुस्तकमा १ सय ४८ ओटा उखान टुक्का लगायत यसको वर्णनहरु समेत उल्लेख गरिएको छ।

उक्ति ठट्टा, रमाइलो, भोगाइ, जिवन यापन, संस्कृति र कामका बारेमा समूदायले भोग्दै भन्दै, सुन्दै आएका उखानहरु लोप हुनबाट बचाउनका लागि पहिलो पटक तामाङ, देवनागरिक, सम्भोटा र अंग्रेजी लिपि र तामाङ र अंग्रेजी भाषामा उखानहरुलाई संकलन गरेर पुस्तकाकार दिइएको लेखक फ्युवाले बताउनुभयो।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै टिप्पणीकारहरुले स्थानीय सरकारले भाषा संरक्षण गर्दै स्थानीय पाठ्यक्रममा राख्न, यसलाई मुख्य शब्दको रुपमा भाषा विकास गर्न सघाउन आग्रह गर्नुभएको थियो।

डिजिटल प्रविधिसँग पुस्तकलाई समायोजन गर्न अन्तिम कभरमा क्युआर कोड समावेश गरिएको छ । जसलाई स्क्यान गरी पाठकहरूले इलेक्ट्रोनिक पेजमा पढ्न र अडियो स्वरूपमा सुन्न सक्ने पुस्तकका लेखक फ्युबाले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस