धादिङ । विचौलीयाको हालिमुहाली हुदाँ किसानले कृषिजन्य उत्पादनको उचित मूल्य पाएका छैनन् ।
उत्पादित तरकारी तथा फलफुल हरेक वर्ष विक्रि वितरण नभएर काट्ने, फाल्ने, ट्याक्टर लगाउने किसानको नियति दोहोरिरहेको छ।
धादिङको गजुरी गाउँपालिका–५ गजुरीका हरिशरण धितालले सात रोपनी जग्गामा बन्दा खेती गर्नुभएको थियो ।
पहिलो लटमा प्रतिकेजी तीन रुपियाँका दरले थोरै बन्दा विक्रि गरेपनि बाँकी बन्दा त्रिशुली किनारमा फालेको धितालले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘सात रोपनी जग्गामा बन्दा खेती गर्दा ६० हजार खर्च भएको छ । आफ्नो मेहनत लगायतका खर्च जोडेकै छैन,रात दिन नभनि खेती ग¥र्याैं । उत्पादित बन्दा प्रतिकेजी एक रुपियाँमा पनि विक्रि भएन । एक/दुई रुपियाँमा मात्रै विक्रि भएपनि मल, विउविजनको पैसा उठ्थ्यो । पैसाको त के कुरा सित्तैमा पनि कसैले लगेन ।’
पैसा तिरेर त परैका कुरा गाडी भाडा नओत्ने भन्दै सित्तैमा पनि व्यापारीले बन्दा नलगेको उहाँले गुनासो गर्नुभयो ।
खेतमा लगाएको बन्दा नबिकेपछि काटेर त्रिशुली किनारमा फालेका भन्दै उहाँले कोल्ड स्टोर मात्रै भएको भए पनि त्रिशुलीमा बन्दा फाल्नु नपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘धेरै त फालिसके, बाँकी पनि काटेर त्रिशुलीमा फाल्ने र खेत रोप्ने हो ।’हरिशरण धितालले मात्रै होईन अर्का किसान मथुरा श्रेष्ठले पनि बन्दा काटेर फाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘न बेलैमा मल, विउ विजन पाइन्छ । न फलेको कृषि उत्पादन विक्रि हुन्छ । महिनौ लगाएर रात दिन नभनि उत्पादन गरेको कृषिजन्य उत्पादन खोलामा फाल्नु परेको छ।’ ‘किसानलाई सरकारले पनि हेरेन । किसानलाई सरकारले नै खाएको हो, सरकारले नै मारेको हो।’
‘फलेको बन्दा काटेर त्रिशुलीमा फालेर चैते धान रोपेको छु । खेतमा नआउँ पानी लगाउन पर्छ । आउँ काटेर फालेको बन्दाको थुप्रो देख्दा मन भक्कानिन्छ अनि आँसु झर्छ’ आँखा रसिलो पार्दै उहाँले भन्नुभयो । ‘प्रति केजी एक रुपियाँमा पनि बिक्दैन बन्दा । अन्य तरकारीको पनि अवस्था उस्तै छ । कृषिप्रधान देशमा किसान सधैं मरिरहने हो सरकार ?’ उहाँले प्रश्न गर्नुभयो ।
७४ वर्षिय विष्णु श्रेष्ठ प्रतिकेजी पाँच रुपियाँमा बन्दा विक्रि भए साँवा उठ्ने बताउनुहुन्छ । ‘२० टन भन्दा धेरै बन्दा होला । माग छैन भनेर व्यापारी आउदैन । आफु लगेर बेच्न सकिदैन’ उनले भने- ‘पाँच रुपियाँले मात्रै बन्दा विक्रि भए मल, विउ विजन, ट्याक्टर खर्च उठ्ने थियो । त्यति धेरै दुःख गरेर फलाएको बन्दा खेतमै कुहाउनु परेको छ । केही त काटेर फालेँ । केही यही खेतमै कुहिन्छ भनेर छाडेको छु । न धान रोप्न पाउनु, न बन्दा विक्रि गरेर पैसा पाउनु । कृषिजन्य उत्पादन घाटाको व्यापार त हो ।’
७४ वर्षिया गोमा श्रेष्ठ भने बन्दा बिक्छ कि भन्ने झिनो आशमा रहेको बताउनुहुन्छ । ‘धेरैले काटेर त्रिशुलीमा फालिसके । आठ रोपनी जग्गामा तरकारी खेती छ । मैले चाँहि दुई/चार रुपियाँमा विक्रि हुन्छ कि भनेर खेतमै राखेको छु ।
त्यति धेरै दुख गरेर फलाएको तरकारी काटेर चाँहि फाल्दिन । बरु खेतमै कुहिएर जाओस्’ उहाँले सुनाउनुभयो। विरुवा जमाउन, सार्न तथा गोडमेलका लागि पनि थुप्रै खर्च भएको छ । बन्दा हेर्दा खाउँ खाउँ जस्तो छ । आफुले खाएर सकिदैन, व्यापारीले लादैन’ उहाँले भन्नुभयो ‘बिके बिक्छ नबिके बोटमै कुहिन्छ । दुई/चार रुपियाँ आए विउको पैसा तिरौंला । तर मन रुवाएर रहर लाग्दो बन्दा त्रिशुलीमा फालेर पाप बोक्दिन ।’
गजुरीका किसानले जस्तै धादिङका धेरै ठाउँका किसानले मूल्य नपाएर कृषिजन्य उत्पादन काटेर फालेका छन् ।
समयमै विउविजन तथा मल नपाएर आजित भएका किसानलाई कृषिजन्य उत्पादन विक्रि नहुदा काटेको घाउमा नुनचुक जस्तै बनेको छ ।
धादिङले संघीय राजधानी काठमाडौमा ठूलो परिमाणमा तरकारी निर्यात गर्दछ । तर यो समस्या समाधानका लागि तीनै तहको सरकारको ध्यान पुग्ने दिन किसानहरु कुरिरहेका छन् ।