धादिङ आवाज दैनिक भाद्र १०
कामको खोजीमा विदेशिएका युवाहरुको संख्या ४५ लाखको हारा हारीमा रहेको छ । स्वदेशमा भने जस्तो कुनै पेशा, व्यावसाय र रोजगारीको सुनिश्चित नभएको भन्दै धेरै पैसा कमाउने सपना बोकि दैनिक जसो १५ सय युवा जनशक्ति विदेशिएका छन । तर आफ्नो सिप र क्षमताको सहि सदुपयोग नेपालमा नै गर्न सकियो भने राम्रो आम्दानी स्वदेशमा नै गर्न सकिने केही उदाहरणहरु पनि देख्न सकिन्छ । तीनै उदाहरणहरु मध्ये एक उदाहरणका पात्र हुनुहुन्छ सुभाष रेशमी मगर ।
गंगाजमुना गाउँपालिका वडा नम्बर ७ बुढाथुम गलने स्थायी घर भएका मगरले २०६० सालदेखि कुखुरा पालन व्यावसायलाई निरन्तरता दिँदै आउनुभएको छ । सुरुमा काठमाडौबाट बोइलर कुखुराबाट व्यावसाय सुरु गर्नुभएका मगरले २०७१ सालसम्म काठमाडौंमा र २०७२ साल देखि नीलकण्ठ नगरपालिका वडा नम्बर १२ साङकोष चालिसेमा कुखुरा पालन व्यवसाय गर्दै आउनुभएको छ । हाल हाइलाइन र एचएन प्रजातीको अण्डा दिने करिब २ हजार ५ सय कुखुरा पालन गरी मासिक १ लाखदेखि १ लाख ५० हजार सम्म आम्दानी गर्दै आउनुभएको छ ।
२०७२ सालमा ३ रोपनी जग्गाको बार्षिक ५० हजार भाडा भुक्तानी गर्ने गरि व्यावसाय सुरु गर्नुभएका मगरले सुरुमा ९ लाख रुपैंयाबाट व्यावसाय सुरु गर्नुभएको थियोे । सुरुमा १७ सय कुखुराबाट व्यावसाय सुरु गरेका मगरले हाल २५ सय कुखुरा पाल्नुभएको छ । २५ सय कुखुराले दैनिक १७ सय देखि १८ सय सम्म अण्डा उत्पादन गर्दै आएको उहाले बताउनुभयो । उत्पादन भएको अण्डा सदरमुकाम धादिङवेसी र आसपासका क्षेत्रमा विक्रि हुने गरेको पनि उहाले सुनाउनुभयो ।
कुखुरा पालन व्यावसाय सुरु गर्नु पूर्व आवश्यक ज्ञान र सिप सिकेर योजना सहित व्यावसाय राम्रोसँग गर्न सक्यो भने राम्रै आम्दानी हुने मगरको अनुभव छ । यस व्यावसायमा समय समयमा देखिने रोग, मूल्यमा आउने उतारचढाप र विक्रिको लागि आवश्यक बजारको अभावका कारण समस्या हुने गरे पनि समग्रमा यो व्यावसायबाट आफु सन्तुष्ट भएको उहा बताउनुहु्न्छ । ५ जनाको परिवार रहेका मगरको दुई छोरी र एक छोरा सदरमुकामकै निजी विद्यालयमा अध्ययनरत छन । मगरले सम्पूर्ण कुखुराको रेखदेख सबै आफैले गर्दै आउनुभएको छ । सुरुमा शिक्षक र त्यसपछि वैदेशिक रोजगारीको लागि विदेश जाने सोच बनाएका मगरले अन्तत यो व्यावसाय शुरु गर्नुभएको हो । ‘विदेश जाँदा भनेको समयमा काम नपाउने, भनेको भन्दा अर्कै काम गर्नुपर्ने अवस्था आउनसक्ने र लामो समयसम्म परिवारबाट टाढा हुनुपर्ने अवस्था आउँछ तर आफ्नै गाउँठाउँमा परिवारको साथमा केही व्यवसाय गर्दा आम्दानी पनि राम्रै हुन्छ अनि किन जानु विदेश ?’ उहाले विदेश जाने युवाहरुप्रति लक्षित गर्दै भन्नुभयो ।
अहिले वैदेशिक रोजगारीको निम्ती भौतारीरहेका युवाहरुलाइ विदेश नजान आग्रह गर्दै आफ्नै देशमा केहि ब्यापार ,व्यावसायमा लगानी गरि आत्मनिर्भर र उध्यमी बन्न उहाले सुझाव दिनुभएको छ । मेहनत गरे विदेशमा अरुको काम गरेर कमाउने जति रकम अफ्नै कामबाट घरैमा बसि बसि कमाउन सकिने र आत्मासन्तुष्टि पनि हुने उहाले बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |