धादिङ । वन डढेलोमा संलग्न व्यक्तिको बारे सप्रमाण जानकारी गराउने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय धादिङले पुरस्कार दिने भएको छ ।
प्रशासनले शुक्रबार एक सूचना जारी गरी वन डढेलोमा संलग्न व्यक्तिको बारे सप्रमाण जानकारी गराएमा सूचनादाताको नाम गोप्य राखी उचित पुरस्कारको व्यवस्था गरिने जनाएको छ।
अझै पनि विभिन्न बहानामा डढेलो लगाउने गरेको पाइएको भन्दै जानी जानी डढेलो लगाउने/आगो लगाउने व्यक्तिको सूचना उपलब्ध गराउन प्रशासनले अनुरोध गरेको छ ।
सूचना उपलब्ध गराउने व्यक्तिको परिचय गोप्य राखिने र उक्त सूचना प्रमाणित भएमा निजलाई उचीत पुरस्कारको समेत व्यवस्था गरिने छ, प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समिति धादिङका अध्यक्ष बदीनाथ गैह्रेद्धारा जारी सूचनामा उल्लेख छ ।
जिल्लाको विभिन्न वन क्षेत्रमा लागेको डढेलोले मानव वस्तीसम्म पुगी घरगोठ लगायतका संरचनामा आगलागी भएको,मानवीय तथा पशु चौपाय लगायत ठूलो आर्थिक तथा भौतिक क्षति भइसकेकोले डढेलो लागिसकेपछी नियन्त्रण गर्न जटिल हुने भन्दै डढेलो लाग्न नदिन सबै सचेत र सतर्क हुनुपर्ने सूचनामा भनिएको छ ।
साथै डढेलो तथा आगलागी नियन्त्रणका लागि आ–आफ्नो स्थानबाट पूर्ण रुपमा सहयोग पु¥याउनुहुन जिल्लास्थित सम्पूर्ण सरकारी निकाय, स्थानीय तहहरु, राजनैतिक दल, गैरसरकारी क्षेत्र, निजी क्षेत्र, सञ्चार क्षेत्र, वन उपभोक्ता समितिहरु लगायत आम जनसमुदायलाई प्रशासनले अनुरोध गरेको छ ।
यतिखेर देशभर आगलागीका घटना बढ्दै जाँदा यसको नियन्त्रण र रोकथामको लागि सरकारले प्रभावकारी काम गर्न सकेको छैन । एकातिर आगो निभाउने स्रोत, साधन र जनशक्तिकै कमी छ ।
अर्कोतर्फ आगलागी रोकथामको लागि जनचेतनामुलक अभियान प्रभावकारी बन्न सकेको छैन । आगलागी पीडितको समयमै उद्धार र राहतको काममा पनि तीन तहका सरकारबीच समन्वय हुन सकेको छैन ।
सन् २०२४ शुरु भएदेखि अहिलेसम्म चार महिनाको अवधिमा चार हजार ५१२ वटा डढेलोका घटना भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
यस्तो छ,प्रशासनद्धारा जारी सूचना :
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |