उषा वि.क
धादिङ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण पुनः फैलिन सक्ने भन्दै धादिङबेशीमा लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिने भएको छ ।
नीलकण्ठ नगरपालिका, जनस्वास्थ्य कार्यालय, धादिङ जिल्ला अस्पताल लगाएत सरोकारवाला संस्थाहरुले संयुक्त रुपमा अभियान सञ्चालन गरिने जानकारी दिएको छ ।
मंगलबार धादिङबेशीमा नीलकण्ठ नगरपालिका र जनस्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा भएको डेंगु रोग सम्बन्धी सचेतना तथा खोज र नष्ट गर्ने अभियान सञ्चालन बारे एक दिने अभिमुखीकरणमा सो जानकारी गराईएको हो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले टोल–टोलमा गएर पानी जम्ने सम्भावना भएको ठाउँ खोजी गरी नष्ट गर्ने बताउनुभयो ।उहाँले डेंगु संक्रमण रोकथाम र नियन्त्रण गर्न आग्रह गर्दै यसका लागि आवश्यक सहयोग उपलब्ध गराउने पनि बताउनुभयो ।
यस्तै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु रिजालले बजारक्षेत्रमा डेङ्गु सङ्क्रमण बढ्ने निकै नै जोखिम रहेको भन्दै तत्कालै लामुखट्टेको बासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गरिने बताउनुभयो ।
बिगतका बर्षहरुमा नीलकण्ठ को वडा ३, ८ र १२ का बजारक्षेत्रमा संक्रमण बढि देखिएकाले अहिले देखिनै सू–सूचित गर्न जरुरी रहेको बताउनुभयो ।
जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख बिभु कुमार झाले हरेक पालिकाभित्रका गाउँ टोलमा सचेतना अभियान सञ्चालन गरिने भन्दै बिशेष गरी सहरी क्षेत्रमा सचेत हुनुपर्ने बताउनुभयो ।
अभियानमा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, शसस्त्र, नगर प्रहरी, टोल विकास संस्था महासंघ,स्थानीय बुद्धिजीवी परिचालन गरीने उहाँको भनाई छ ।
यस्तै धादिङ अस्पताल प्रमुख गगन अधिकारी, पत्रकार महासंघका अध्यक्ष राजाराम शर्माले डेंगु संक्रमण रोकथाम र नियन्त्रण गर्न नागरिक सचेत बन्नुपर्ने बताउनुभयो।
अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य कार्यालयका तोयानाथ छत्कुलीले डेंगु के हो?, डेंगु लागेको कसरी थाहा पाउने ?, कसरी बच्ने ?, डेंगुको निदान तथा व्यवस्थापन लगाएतका बिषयमा प्रस्तुतिकरणमार्फत जानकारी गराउनुभएको थियो।
पानीपरेसँगै जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्ने भएकोले डेङ्गुको जोखिमसमेत बढ्दै आएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार धादिङमा चालु आर्थिक बर्ष २०८०/८१ को साउन यता मात्रै ३ हजार ५ सय ९ जनामा डेङ्गु सक्रमण भएको छ ।
ति मध्ये २ हजार ७२१ जना डेङ्गुका बिरामी नीलकण्ठ नगरपालिकाका मात्रै छन् । संक्रमित मध्ये २ जनाको संक्रमणकै कारण ज्यान गएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
पछिल्लो समय जेठ ३० गते एक जना बिरामी भेटिएका थिए ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ ।
डेङ्गुले गर्दा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेजस्ता लक्षण देखा पर्दछ ।
लामखुट्टेबाट बच्न सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल तथा ढोकामा जाली हाल्न जनस्वास्थ्य कार्यालय धादिङले अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले डेंगु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |