धादिङ । नेपाली कांग्रेसका सांसद रामनाथ अधिकारीले २०५० सालमा निर्माण कार्य सुरू भएको दामन पाख्रिन सडक ३० वर्ष हुँदा पनि पूरा नभएको बताउनुभयो ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद अधिकारीले क्रान्ति नायक दामन पाख्रिनको नामबाट राखिएको सय किमी सडक धादिङवेशी–सांकोष–तिप्लिङ सडक(दामन पाख्रिन राजमार्ग) निर्माण कार्य सुरु भएको ३० वर्ष भए पनि अहिलेसम्म पूरा नभएको बताउनुभएको हो ।
उक्त सडक तत्कालीन जिल्ला विकास समितिले कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत २०५० सालमा निर्माण कार्य सुरू गरिएको बताउनुभयो । सडक नहुँदा स्थानीयलाई सदरमुकाम आउन तीन/चार दिन हिँड्नुपर्ने भन्दै उहाँले सडकखण्डमा ८ वटा खोलामाथि पुल बनाउनुपर्ने पनि बताउनुभयो।
सय किलोमिटर लम्बाई रहेको उक्त सडक खण्डको निर्माण भैसक्दा लाभान्वित हुने नागरिकहरू वर्षायाममा अहिलेपनी सदरमुकाम आइपुग्नलाई ३ देखी ४ दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘पक्की पुल मध्ये सबैभन्दा ठुलो किन्ताङ खोला माथीको पुलको अहिलेसम्म पनि सर्वे नभएकोले एकजना जनप्रतिनिधिको हैसियतले पटक पटकको हारगुहार पछाडी नेपाली सेना र विद्धुत प्राधिकरणको सहायतामा यसपाली बेलिब्रिज निर्माण गर्दैछौं । यस्तो लाजमर्दो किसिमको विकासको नमुना हामिले कहिलेसम्म गरिरहने हो ? जनताले अहिलेको सूचनाप्रविधिलाई प्रयोग गरेर विश्वमा भएका भौतिक विकासका नमुनाहरू हेरिरहेका छन् । जसबाट १० वर्ष, १५ वर्ष, २० वर्षको अवधीमा भौतिक विकासमा कायापलट गरेका मुलुकहरूलाई नियालिरहेका छन् तर हामिहरू ३० वर्षमा पनि जम्मा १०० किलोमिटरको सडकलाई पक्की बनाउन सक्दैनौ भने, जनतालाई कहिलेसम्म झुक्याइरहने हो?’
अझ गज्जबको कुरा त के छ भने सरकारले वार्षिक रूपमा बजेट निर्माण गर्दा उक्त सडकलाई ५–६ ठाउमा संघीय सरकारले शिर्षक राख्छ, ३–४ ठाउमा प्रदेश सरकारले सडक कालोपत्रे भन्ने शिर्षक राख्छ र रकम छुट्याउछ ५ लाख, १० लाख । के गर्ने हो त्यो पैसाले ? हुमादी गर्ने हो की श्राद्ध गर्ने हो ? उहाँले पश्न गर्नुभयो ।
उहाँले सभामुख मार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै नागरिकको आसुँले हामि सबैलाई पोल्ने भन्दै प्रश्न गर्नुभयो,३० वर्ष पुरा भयो, अब कति वर्ष कुर्नु पर्ने हो निमुखा नागरिकले ?
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |