धादिङ,१३ असार।
बाँदर नियन्त्रणको माग गर्दै धादिङका किसानहरुले वाग्मती प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका छन्।
बुधबार धादिङबाट दुईवटा बस रिर्जभ गरेर हेटौंडा पुगेका जिल्लाको तीन गाउँपालिकाका बाँदरपीडित कृषकहरुले हेटौंडास्थित वाग्मती प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन्।
प्रदेश सरकारले बाँदर नियन्त्रणका लागि कुनै पनि कार्यक्रम नल्याएको भन्दै धादिङको निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकाका किसानले हेटौंडास्थित वाग्मती प्रदेशसभा भवन अगाडि धर्ना दिएका हुन्।
किसानहरुले वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्र मान श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझेपछी मन्त्री श्रेष्ठले यो देशैभरको् समस्या भएकाले विकल्प सोचेर किसानहरुको मागलाई सम्बोधन गर्ने बताएका निलकण्ठ नगरपालिका–९ का पूर्ववडाध्यक्ष भोज बहादुर रेग्मीले जानकारी दिनुभयो।
त्यस्तै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पनि यस विषयमा कुरा उठाएको र विकल्प सोच्ने बताएका रेग्मीले जानकारी दिनुभयो। हेटौडा पुगेका १ सय ५० जना भन्दा बढि कृषकहरुले ‘किसान मार्न पाइँदैन, बाँदर पाल्न पाइँदैन’, ‘बादर आतंक बन्द गर, प्रदेश सरकार कहाँ छ ?’ लगायतका नारा लगाएका थिए।
प्रदर्शनमा सहभागी निलकण्ठ नगरपालिका–९ पाल्पाभन्ज्याङका कृषक नवराज दुवाडीले बाँदरले खेतपाती सबै नष्ट गरेको र गाउँबाटै विस्थापित हुनु पर्ने अवस्था आएकोले प्रदेश सरकारको ध्यानाकर्षण गराउन हेटौंडा पुगेर नारा जुलुस गरेको बताए।
उनले बादर आतंकको कारण ठूलो समस्या हुँदा पनि प्रदेश सरकार कानमा तेल हालेर बसेको आरोप लगाए। अन्तर्राष्ट्रिय कानुन देखाएर बाँदर आतंक बन्द नगराएको उनको भनाई थियो ।उनीहरुले प्रदेश सरकारले बाँदर नियन्त्रणका लागि बजेट व्यवस्था नगरेको र कार्यक्रम पनि नल्याएकाले गुनासो गरेका छन्।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |