धादिङ,२६ असार।
धादिङ सहित देशैभर डेङ्गीको सङ्क्रमण बढिरहेको छ । बर्खा सुरु भएसँगै दिनहुँ डेङ्गीका बिरामी बढ्न थालेका छन्।
पछिल्लो २४ घण्टामा धादिङका थप १२ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। ६ जना पुरुष र ६ जना महिला गरी १२ जना थप डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये सिद्धलेकका १, खनियाबासका १ र नीलकण्ठ नगरपालिकाका १० जना रहेका छन।आईतबार मात्रै जिल्लाका २२ जनामा संक्रमण भएको थियो ।
यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ७३१ जनामा संक्रमण पुष्टि भएको छ।संक्रमित मध्ये १ हजार ४४५ जना पुरुष र १ हजार २७६ महिला छन् ।
संक्रमित हुने मध्ये नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै १ हजार ७८० जना संक्रमित भएका छन् भने सबैभन्दा कम खनियाबास गाउँपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ ।
गजुरीमा १२० र त्रिपुरासुन्दरीमा ८३, ज्वालामुखीमा १०५, धुनिबेशीमा ९४, गल्छीमा १३२, सिद्धलेकमा ९४, बेनिघाट रोराङमा १३९, गंगाजमुनामा ३५ थाक्रेमा १८, रुवीभ्यालीमा १८, नेत्रावती डवजोङमा १६ जनामा संक्रमण पुष्टि भएको छ।
यो तथ्याङ्क चालु आर्थिक बर्षको २०७९ साउन १ देखी २०८० असार २६ गतेसम्मको हो।
संक्रमणबाट बच्न विज्ञहरूले सुझाव दिएका छन् ।संक्रमण बढेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत गराएका छन् । डेंगुको संक्रमण बढ्दै गए पनि सामान्य दैनिकीमा ख्याल गर्दा यसको जोखिम कम हुने स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले बताए।
घर होस् वा कार्यालयमा डेंगु संक्रमण फैलाउने लामखुट्टेको फुल पार्न सक्ने ठाउँ नष्ट गर्ने तथा गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने गर्नुपर्छ ।
एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण, डेंगुको सेरोटाइप प्रत्येक वर्ष परिवर्तन हुने गरेको छ । एडिस जातको लामखुट्टेको अण्डा एक वर्षसम्म जीवित रहन्छ । यो लामखुट्टे दिउँसोको समयमा समेत बढी सक्रिय हुने गर्दछ । विसं २०६१ मा पहिलो पटक डेंगु देखापरेको थियो ।
त्यसयता क्रमशः बढ्दै गएको तथ्याङ्कले देखाउँछ । सन् २०१० मा पहिलो पटक नौ सय १७ जनामा डेंगुको संक्रमण देखिएको थियो भने पाँच जनाको मृत्यु भएको थियो ।
सन् २०१९ मा १७ हजार नौ सय ९२ सङ्क्रमित र छ जनाको मृत्यु भएको थियो । गत वर्ष सन् २०२२ मा ५४ हजार सात सय ८४ डेंगुका बिरामी देखिएका थिए ।
सङ्क्रमितमध्ये ८८ जनाको मृत्यु भएको थियो । बागमती प्रदेशमा ७७ प्रतिशत डेंगुका बिरामी भेटिएका थिए । त्यसमा पनि काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै ५६ प्रतिशत डेंगु सङ्क्रमित रहेको इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले देखाएको छ ।
डेंगुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि छ दिनसम्म ज्वरो रहने हुन्छ । आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने र ज्वरो आएको पाँच दिनपछि रातो बिमिरा देखापर्ने लक्षण देखिन सक्छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |