धादिङ,०२ भदौ।
धादिङमा डेंगी महामारी भयावह रुपमा देखिएको छ ।बिरामीहरु दिन प्रतिदिन बढिरहेका छन्।
साउन महिनाको सुरुका दिनमा ३०/४० जना डेंगीका बिरामी आउने गरेको धादिङ अस्पतालमा अहिले ९० जनासम्म संक्रमितहरु भेटिएका छन्।
साउन १ गदेखी भदौ १ गते ३३ दिनको अवधीमा ९२५ जना पुरुष र ९२० जना महिला गरी १ हजार ८४५ जना संक्रमित भएको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख छ।
संक्रमणकै कारण धादिङमा पहिलो पटक एक जनाको मृत्यु समेत भयो ।
पेट दुख्ने र बान्ता हुने समस्याले धादिङ अस्पतालमा भर्ना भएकी ज्वालामुखी गाउँपालिका ७ निवासी ७५ वर्षीया राममाया छत्कुलीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको धादिङ अस्पतालका सूचना अधिकारी डा.रामचन्द्र रिजालले जानकारी दिए।
साउन २६ गते धादिङ अस्पताल भर्ना भएर डेंगी समेतको उपचार गराइरहेकी छत्कुलीको दिसामा रगत देखिएकोले २९ गते काठमाडौँ रिफर गरिएकोमा ३० गते उपचारको क्रममा मृत्यु भएको डा.रिजालले बताए।
डेंगीका बिरामीको पहिलो चरणमा भए सामान्य लक्षण देखिने, ज्वरो आउने जिउ दुख्ने कमजोरी महसुस हुने लगायतका लक्षण हुन् तर धादिङमा भने दोस्रो चरणको डेंगी देखिएको छ ।
यसलाई डेंगीभाइरस सेरो टाइप टु भनेर चिनिन्छ ।डेगी पोजेटिभ भएका २५ जनाको रगत परिक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएकोमा २४ जनालाई दोश्रो चरणको डेंगी देखिएको धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रुद्र भण्डारीले जानकारी दिए।
दोस्रो चरणको डेंगी देखिँदा नाक र गिजाबाट रगत आउने, श्वासप्रश्वासमा समस्या आउने, मुटु र दिमागमा असर पर्ने, सेतो रगतमा कमी हुने, कलेजो सुनिने लगायतका थप लक्षणहरु समेत देखा पर्ने डा.भण्डारीको भनाई छ।
५० बेडको क्षमता भएको धादिङ अस्पतालमा अहिले ९० बेड राखेर डेंगी, स्क्रप टाइफस र अन्य बिरामीको उपचार भइरहेको छ।
दिनहुँ बिरामी बढ्नु,बेड र स्वास्थ्यकर्मी पर्याप्त नहुँदा उपचारमा समस्या आएको डा.भण्डारीले बताए।धादिङ अस्पतालमा मात्र नभएर डेंगीका बिरामी निजी मेडिकलहरुमा समेत आउने गरेको पाइएको छ।
यसैगरी जिल्लामा डेंगीसंगै स्क्रब टाइफसले समेत महामारीको रुप लिएको छ । साउन यता हालसम्म ४१ जनामा स्क्रब टाइफस संक्रमण भएको छ। डेंगी भन्दा जटिल मानिएको स्क्रब टाइफसबाट साउन ४ गते धादिङमा एकजनाको उपचारको क्रममा मृत्यु समेत भइसकेको छ।
ज्यानै लिएको स्क्रबटाइफस यो मात्रामा देखिनु पनि जटिल समस्याको रुपमा लिनुपर्ने धादिङ अस्पतालका प्रमुख भण्डारीको भनाइ छ। स्क्रबटाइफस संक्रमण हुदाँ टाउको दुख्ने, शरीरका मांसपेशी दुख्ने, फियो सुनिने, बोसो डल्लो डल्लो बसेर सुनिने, रगत बग्ने, निमोनिया हुने र समयमा उपचार नपाएमा बिरामीको मृत्यु समेत हुन सक्छ ।
डेंगी र स्क्रबटाइफस नियन्त्रणका लागि स्वास्थ्य कार्यालय र धादिङ अस्पतालले सचेतना अभियान चलाइरहेको छ । नियन्त्रणका लागि भएको सरकारी प्रयास भने विफल जस्तै भएको छ ।
सबैभन्दा बढी संक्रमण देखिएको नीलकण्ठ नगरपालिकाले समेत ध्यान दिन सकेको छैन।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |