धादिङ,०९ बैशाख।
धादिङ अस्पतालमा विशेषज्ञ सेवा सहित निशुल्क हृदय स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
शनिबार धादिङ अस्पतालको आयोजना तथा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँको सहयोगमा निशुल्क हृदय स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शनिबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन भएको शिविरमा १ सय १० जनाले स्वास्थ्य परिक्षण गराएको अस्पतालका विशेषज्ञ डा.दिनेश रेग्मीले जानकारी दिनुभयो ।
डा.रेग्मीका अनुसार शिविरमा ९० जनाले ईसिजी र ७५ जनाले मुटुको ईको गराएका छन् ।शनिबार अस्पतालले एक औपचारिक कार्यक्रम गरि मुटुरोगको सेवा विस्तार भएको घोषणा गरेको छ ।
प्रत्येक महिनाको १५/१५ दिन(महिनाको पहिलो र तेस्रो शनिबार) सेवा दिनेगरी मुटु रोग सेवा विस्तार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.रुद्रमणी भण्डारीले जानकारी दिनुभयो ।
मुटु रोगको लागि उपचार गर्न राजधानी जानुपर्ने बाध्यतालाई हटाउन धादिङ अस्पतालमै सेवा विस्तार गरिएको अस्पतालका अध्यक्ष राजाराम रिजालले बताउनुभयो ।
धादिङ अस्पतालले सेवालाई बिस्तार गर्न गत चैतमा गंगालाल हृदयरोग केन्द्रसंग औपचारिक सम्झौता गरेको थियो । महिनामा दुई पटक सेवा दिनेगरि एकवर्षको सम्झौता भएको अस्पतालका अध्यक्ष रिजालले जानाकारी दिनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |