हेटौँडा २७ वैशाख । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफललाई तीव्रता दिएको छ । आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम बारे सुझाव सङ्कलनका लागि छलफललाई तीव्र बनाएको हो । गत सोमबार प्रदेशसभा सदस्यहरूसँग सरकारको नीति तथा कार्यक्रमको विषयमा छलफल गरेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज बुधबार भने प्रदेश सरकार मातहतका निकायका प्रमुखहरूसँग छलफल सुरु गरेका छन् ।
मुख्यमन्त्रीसहित प्रदेशका मन्त्री, सचिव र विभिन्न निकायका प्रमुखहरू सम्मिलित उक्त छलफल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा सुरु भएको छ । कार्यालयमा मुख्यमन्त्री जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, अन्य मन्त्रालयका मन्त्रीहरू, प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्य, सरकारका प्रमुख सचिव र मन्त्रालयका सचिवहरू बीच सरकारको नीति तथा कार्यक्रम निर्धारण र कार्यान्वयनका विषयमा छलफल भइरहेको हो । बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम कस्तो हुने भन्ने विषयमा छलफल हुने जनाइएको छ । विगतको सरकारहरुले ल्याएका नीति तथा कार्यक्रमको समीक्षासमेत गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
यसै गरि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पाँच वर्षको प्रदेश सरकारको उपलब्धि समीक्षा गरेर सबैको सुझावलाई समेटेर नीति तथा कार्यक्रमसँगै बजेटको समेत तयारी गरिरहनुभएको जानकारी दिनुभएको छ । आम नागरिकले महसुस गर्न पाउने नीति तथा कार्यक्रमको तयारी गरिरहेको जनाउँदै उहाँले भन्नुभयो, “हामी परिणाम देखिने र आम नागरिकलाई छुने गरी नीति कार्यक्रम ल्याउने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “प्राप्त सुझावहरुका आधारमा हामी अघि बढ्नेछौँ ।” नीति तथा कार्यक्रमको तयारीका लागि पनि सबै दलहरुसँग छलफल र सुझाव सङ्कलन गरिरहेको उहाँले जानकारी दिनुभयो । व्यक्तिभन्दा पनि समूह र गाउँ नै समृद्ध बनाउने अभियान प्रदेश सरकारले लिएको उहाँको भनाइ छ । गत सोमबार बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रमबारे प्रदेश सरकारले प्रदेशसभामा आबद्ध राजनीतिक दलहरुसँग सुझाव सङ्कलन गरिसकेको र उहाँहरुको सुझावलाई नीति तथा कार्यक्रममा समेटिने मुख्यमन्त्री शालिकराम जमकट्टेलले जनाउनुभयो । उहाँले नीति तथा कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र केन्द्रित विशेष कार्यक्रम तथा परिणाममुखी नीति कार्यक्रम ल्याउन सुझाव लिइएको समेत जनाउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |