धादिङ-नीलकण्ठ नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब १९ करोड रुपैयाँको बजेट ल्याएको छ।
शनिबार दोश्रो नगरसभाको पाँचौँ अधिवेशनमा नगर उपप्रमुख दिपक विश्वकर्माले १ अर्ब १९ करोड १ हजार ४ सय रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।
अधिवेशनमा कार्यपालिकाबाट आव ०८१।८२ का लागि पारित गरेको चालु तर्फ ८७ करोड ९४ लाख ८४ हजार चारसय रुपैयाँ र पुँजिगत तर्फ ३१ करोडपाँच लाख १७ हजार रुपैयाको बजेट प्रस्तुत गर्नुभएको थियो ।
संघीय सरकारको समानिकरण अनुदान २१ करोड २१ लाख ४५ हजार, ससर्त अनुदान ४६ करोड ७५ लाख ६० हजार, समपुरक अनुदान १ करोड ४० लाख, राजश्व बाँडफाँड १४ करोड ९० लाख, बागमति प्रदेश सरकारको समानिकरण अनुदान २ करोड ३८ लाख ७२ हजार, ससर्त अनुदान ३ करोड ७० लाख २ हजार, समपुरक अनुदान ३ करोड, विशेष अनुदान १ करोड, राजश्व बाँडफाँड ६ करोड ५९ लाख, २२ हजार ४ सय हुने अनुमान गरिएको छ ।
यसैगरि आन्तरिक तर्फ आन्तरिक राजश्व ५ करोड, मालपोत ३ करोड, अन्य रकम १० करोड ५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गर्दै उपप्रमुख विश्वकर्माले १ अर्ब १९ करोड १ हजार ४ सय रुपैँयाको बजेट प्रस्तुत गर्नुभएको हो ।
शनिबार बजेट प्रस्तुत गरिएपनी पारित भने भएन ।
प्रदेश सरकारले बजेट प्रस्तुत गर्नु अघि नै नगरपालिकाले निति कार्यक्रम र बजेट ल्याएका कारण प्रदेश सरकारले बजेट कति पठाउँछ भन्ने एकिन नभएकोले पारित नगरिएको नगरपालिकाले जनाएको छ ।
प्रदेश सरकारको बजेट आएपछि नगरसभाको बैठक बसी पारित गर्नेगरि बजेट प्रस्तुत गरिएकोले सुरु भएको नगरसभाको अधिवेशन स्थगित गरिएको थियो ।
नगरपालिकाले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ७ लाख ९३ हजार २ सय २३ रुपैयाँको बजेट विनियोजन गरेकोमा ६० दशमलब ४१ प्रतिशतमात्र बजेट खर्च गरेको बजेट समिक्षामा उल्लेख गरिएको छ ।
आन्तरिक आय ६करोड अनुमान गरिएकोमा ४८ दशमलब ४७ प्रतिशत, संघीय सरकारको राजश्व बाँडफाँडतर्फ १४ करोड ३ लाख ९४ हजार मध्ये ७३ दशमलब ९६ प्रतिशत, प्रदेश सरकारको राजश्व बाँडफाँड तर्फ ६ करोड ६४ लाख ९६ हजार ४ सय ७८ अनुुमान गरिएकोमा ७३ दशमलब ५ प्रतिशत र मालपोत बाँडफाँड तर्फ २ करोड अनुमान गरिएकोमा ८४ प्रतिशत मात्र आम्दानी गर्दा कयौँ योजना गरिएका कार्यक्रम समेत नभएको बजेट समिक्षामा उल्लेख छ ।
बजेट प्रस्तुत गर्नुअघि नगरसभाका अध्यक्ष तथा नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुंगानाले आर्थिक वर्ष ०८१।८२ का लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
यस अघिका बर्षहरुमा पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएकोमा आगमी बर्षका लागि भने शिक्षा, स्वास्थ्य, आर्थिक बिकास र नागरिक शसक्तिकरणका विषयलाई विशेष प्राथमिकता दिने नीति तय गरेको ढुंगानाले बताउनुभयो ।
सरोकारवाला र नगरबासीहरुको विभिन्न समयमा प्राप्त सुझाव, निःशुल्क शिक्षाका लागि विभिन्न बर्ग समुदायबाट उठेका आवाज र दबाबमूलक कार्यक्रमहरु, समदुरी र समन्वयको सिद्धान्तमा आधारित सेवाप्रवाह आगामी बर्षको नगरनीतिको प्रमूख आधार हुने उहाँको भनाई थियो ।
यस्तै नगरसभाकै अवसरमा आजदेखि आधारभुत तह कक्षा १ देखि ३ सम्ममा स्थानिय पाठ्यक्रमको समुद्घाटन गरिएको छ ।
नगरपालिका भित्र रहेका धार्मिक, सांस्कृति तथा पर्यटकिय स्थलहरुलाई समावेश गरि स्थानिय पाठ्यक्रम सुरुवात गरेको नीलकण्ठ नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रकाश दत्त भट्टले बताउनुभयो।
यसैगरी सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको सहयोगमा “समृद्ध नीलकण्ठ नगरपालिकाको आधार, कृषि पर्यटन उद्यमशिलता सहितको पूर्वाधार” भन्ने नारा सहित सम्पूर्ण वडाहरुमा अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चिता सहित नगर घोषणा पनि गरिएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |