धादिङ । आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान शुरु हुँदै छ।
नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना हुने दिन बिद्यार्थीको हातमा किताब पुर्याउनु पर्ने भएपनि धादिङका विद्यालयहरुले भने पाठ्यपुस्तक नै लगेका छैनन् ।
शिक्षा मन्त्रालयले विद्यार्थीलाई भर्ना हुने बित्तिकै पाठ्यपुस्तक दिने भनेर घोषणा गरेपछी जनक शिक्षा सामाग्री केन्द्रले उपलब्ध गराएको किताब विद्यालयहरुले लिन नआएपछि स्थानीय किताब डिपोहरुमै थन्किएको छ।
स्थानीयतह हरुले विद्यालयमा रकम निकासा नदिने र विद्यालयले डिपोमा आएको पाठ्यपुस्तक नलाने भएपछि धादिङका धेरै विद्यालय सरकारी योजना कार्यान्वयन गर्न असफल भएका छन् ।
जिल्लामा पुस्तक तथा स्टेशनरी व्यवसायिहरुले सामुहिक रुपमा धार्के, गजुरी, चरौंदी र धादिङबेसीमा पुस्तक वितरण डिपो राखेर किताब वितरण गरिरहेका छन् ।
दुर्गम क्षेत्रमा समयमै पाठ्यपुस्तक पुर्याउने सरकारको घोषणापछि धादिङका पुस्तक व्यवसायहरुले समयमै पुस्तकहरु डिपोमा ल्याएर वितरण गरेपनि धेरै विद्यालयहरु पुस्तक लिन नआएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासंघका केन्द्रीय उपाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनुभयो।
धुनीबेसी नगरपालिकामा ४३ मध्ये ३ विद्यालयले पाठ्यपुस्तक लगेका छन्, थाक्रे गाउँपालिकामा ४३ मध्ये २० ओटाले, गल्छी गाउँपालिकामा २८ विद्यालय मध्ये ३ ओटा विद्यालयले किताब लगेका छन् ।
गजुरी डिपोबाट ४५ विद्यालयले पाठ्यपुस्तक लानु पर्नेमा ५ विद्यालयले मात्र किताब लगेको डिपोका चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो ।
बेनिघाट रोराङ गाउँपालिकाको डिपोबाट ७० विद्यालयले किताब लानु पर्नेमा ९ विद्यालयले मात्र किताब लगेको विष्णु भट्टराइले बताउनुभयो।
दक्षिणी धादिङका स्थानीय सरकारले धेरैजसोमा विद्यालयको खातामा पैसा पठाएका छैनन् भने पैसा पठाएका विद्यालयले समेत किताब लानका लागि चासो नदेखाएको पाठ्यपुस्तक वितरकहरुको भनाइ छ।
मध्य धादिङ र उत्तर धादिङका विद्यालयहरुले भने ७५ प्रतिशत विद्यालयले पाठ्यपुस्तक लगि सकेको वितरणको संयोजन गरिरहनु भएका नारायणकुमार श्रेष्ठले बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाको ८३ मध्ये ४२ विद्यालयले किताब लगेका छन् भने ज्वालामूखी, त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, गंगाजमुना, खनियाबास, रुबीभ्याली र सिद्धलेक गाउँपालिकाका ९६ विद्यालयले मात्र किताब लान बाँकी रहेको छ ।गजुरी र बेनिघाट रोराङ गाउँपालिकाले विद्यालयको खातामा पाठ्यपुस्तकको निकासा नै दिएको छैन ।
डिपाेमा आएकाे किताब विद्यालयले नलगेकाेले निर्धारित समयमा विद्यार्थीले नपाउने अवस्था आएकाे धादिङ पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष श्रीकृष्ण रिमालले बताउनुभयाे ।
स्थानीय सरकारको मनोमानी काम र संघीय सरकारले समयमै काम गर्नका लागि निकासा दिएपनि स्थानीय सरकारले विद्यालयलाई निकासा नदिँदा समेत विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक नपाउने अवस्था आएको हो। तस्विर:सिताराम अधिकारी
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |