धादिङ,२० असार।
धादिङको चरौदीसहित बागमती प्रदेशमा आठ शीतभण्डार निर्माण गरिएको छ।
प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा आठ शीतभण्डार निर्माण गरेको हो। जसमा ६ वटा निमार्ण सम्पन्न भईसकेको छ भने दुई शीतभण्डार निर्माणको क्रममा छन्।
देशकै मध्यभागमा कृषि उत्पादनका हिसाबले उत्कृष्ट रहेको यस प्रदेशभित्र ठूलो लगानीमा धेरै क्षमताका शीतभण्डार निर्माण गरिएका हुन् । जसमा चितवनको सिमलटाँडी र धादिङको चरौदीमा एक हजार पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डार रु तेह्र करोडको लागतमा शीतभण्डार निर्माण गरिएको छ ।
रसुवाको कालिकास्थलमा रु चार करोडको लागतमा तीन सय मेट्रिक टन क्षमताको, दोलखाको जिरीमा रु पाँच करोडको लागतमा पाँच सय मेट्रिक टन क्षमताको, रामेछापको मन्थलीमा रु पाँच करोडको लागतमा पाँच सय मेट्रिक टन क्षमताको तथा सिन्धुपाल्चोकको इन्द्रावतीमा रु पाँच करोडको लागतमा पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरिएको छ ।
यस्तै सिन्धुपाल्चोककै लिसङ्खुपाखरमा रु पाँच करोडको लागतमा पाँच सय मेट्रिक टन क्षमताको र सिन्धुलीको मूलकोटमा रु पाँच करोडको लागतमा पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण सम्पन्न भएका छन् ।ती सबै शीतभण्डार साउनभित्र सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
नुवाकोटको बेलकोट र विदुरमा रु २०/२० करोडको लागतमा पाँच÷पाँच हजार मेट्रिक टनका दुई शीतभण्डार निर्माणको क्रममा छन्। ‘दुवै शीतभण्डारको काम ६० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । आगामी मङ्सिरसम्म काम सम्पन्न हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ देखि शीतभण्डार निर्माण थालिएको हो । कोभिड–१९, निर्वाचनलगायत कारणले काम सम्पन्न गर्न ढिला भएको हो । बागमती प्रदेश सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा ती शीतभण्डार निर्माण गरिएका हुन्।
शीतभण्डार सञ्चालनमा आएसँगै बाहै्रमहिना उपभोक्ताले तरकारी तथा फलफूल उपभोग गर्न पाउने छन् । आलुको बीउका लागि शीतभण्डार अनिवार्य हुँदा टाढाटाढा र भारतबाट समेत महँगोमा बीउ खरिद गर्नुपर्ने बाध्यताको अब अन्त्य हुने अपेक्षा गरिएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |