धादिङ । सदरमुकाम धादिङबेशीका तिन वटा विद्यालय समायोजन भएपछि बालमन्दिर माध्यामिक विद्यालयका अभिभावक, विद्यार्थी आन्दोलित बनेका छन् ।
नीलकण्ठ नगरपालिका–३ धादिङबेशीमा रहेकोे नीलकण्ठ मावि, बालमन्दिर मावि र ईजारा आवि समायोजन गरी शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाउन खोजेको भन्दै अभिभावकहरु विरोधमा उत्रिएका हुन् ।
बिहिबार आन्दोलनमा उत्रिएका अभिभावक, विद्यार्थीहरुले नारावाजी गर्दै जिल्ला सदरमुकाम धादिङबेशी बजारमा परिक्रमा गरि नीलकण्ठ नगरपालिका कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला प्रशासन कार्यालय धादिङमा नगरपालिकाले गरेको विद्यालय समायोजनको निर्णय फिर्ता गर्न र गराउन माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।
ठूलो संख्यामा विद्यार्थी रहेको बाल मन्दिर माध्यामिक विद्यालयलाई विना छलफल र जानकारी विनै अर्काे विद्यालयमा गरेको समायोजनले विद्यालयको अस्तित्व गुम्ने र शिक्षाको गुणतर खस्किने भन्दै समायोजनको विरोधमा आन्दोलनमा उत्रेका हुन् ।
बालमन्दिर माध्यामिक विद्यालय पहिलेकै अवस्थामा सञ्चालनमा ल्याउने अस्तित्वको लडाईमा अभिभावकहरु रहेको बालमन्दिर बचाउ आन्दोलनका अगुवा तथा बालमन्दिर माध्यामिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष दिपक अधिकारीले बताउनुभयो ।
सामुदायिक विद्यालयमा पढी रहेका बालबालिकाहरुलाई निजि विद्यालयमा पठाउने षडयन्त्र रहेको उहाँको आरोप छ ।उहाँले भन्नुभयो,‘म बालमन्दिर विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्ष हुँ । तर विद्यालय मर्ज भएको मलाई नै थाहा छैन । म मात्र होइन बालमन्दिर माध्यामिक विद्यालयका धेरै शिक्षक, अभिभावक तथा विद्यार्थीलाई जानकारी छैन,कति अभिभावकले छोराछोरीलाई विद्यालयमा भर्ना गर्न जादा विद्यालय अन्तै गाभिएको जानकारी पाए । केही विद्यार्थीलाई त साथीभाइले त पनि अब नीलकण्ठ मै पढ्ने त हो नि भनेपछि थाहा पाए ।’ सिमित मानिसहरुको राजनितिको लागि ११ सय विद्यार्थीको भविष्यसँग खेल्न मिल्छ ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
नीलकण्ठ नगरपालिकाले ११ गतेसम्म विद्यालयलाई समायोजन गरेको निर्णय बदर नगरे चरणवद्ध रुपमा आन्दोलन गर्ने अध्यक्ष अधिकारीको भनाई छ।
दिइएको अल्टिमेटम टाइममा माग पुरा नभए १२ गते बुधबारबाट नगरपालिकामा आमरण अन्सन बस्ने,अन्सन बस्दा भएको क्षति नीलकण्ठ नगरपालिकाले व्यहोर्नुपर्ने र त्यति गर्दा पनि माग पुरा नभए कानुनी ढोका ढकढकाउन बाध्य हुने उहाँले बताउनुभयो।
शिक्षा मन्त्रि सुमना श्रेष्ठसँग पनि कुरा भइ रहेको भन्दै उहाँले स्थानीय सरकारले नै हाम्रो माग, बालमन्दिर माध्यामिक विद्यालयको अस्तित्व बचाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाको शिक्षा समितिले २०८० चैत ३० गते नीलकण्ठ नगरपालिका भित्र रहेको धादिङबेसीका चर्चित दुई ठुला नीलकण्ठ माध्यामिक विद्यालय र बालमन्दिर माध्यामिक विद्यालय सहित इजारा आधारभूत विद्यालयलाई समायोजन गरेको हो । नीलकण्ठ माध्यामिक विद्यालयमा करिव २७ सय, बालमन्दिरमा करिव ११ सय र इजारा आधारभूत विद्यालयमा करिव ७५ जना विद्यार्थी रहेका छन् ।
नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालय भनेर नामाकरण गर्ने प्रस्ताव गरिएको समायोजनपछिको विद्यालयमा यि तीन विद्यालयका विद्यार्थी बाहेक बाहिरबाट आएका बालकक्षादेखि कक्षा ९ सम्म ३ सय २५ जनासम्म मात्र भर्ना गर्न सकिने भनेर कोटा निर्धारण गरि नगरपालिकामा जनशक्ति व्यवस्थापनका लागि पठाइएको हालको नीलकण्ठ माध्यामिक विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले बताउनुभयो ।
नयाँ विद्यार्थीका लागि प्रवेश परिक्षा शुक्रबार लिने तयारी रहेको छ । हालसम्म पाँचसयको हाराहारीमा विद्यार्थीले आवेदन दिएको उहाँको भनाई छ ।
तस्विर सिताराम अधिकारी
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |