धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ तिनघरे स्थित दलित समुदायका बालबालिकालाई एक छाक खानका लागि गाउँचार्दै हिड्नुपर्ने बाध्यता छ ।
सदरमुकाम धादिङबेशीबाट १० किलोमिटर दुरी पर रहेको तिनघरेका दलित समुदायका बालबालिकाहरु जो खाजा खानका लागि विद्यालय आउँछन् ।
तिनघरेको अन्नपूर्ण आधारभूत विद्यालयमा दिउँसो १ बजे खाजा खाने समय भएको थियो । विद्यार्थीहरु खाजाखाने भाँडोमा मासु चिउरा लिएर खाँदै थिए ।
सरकारले दिएको खाजाको १५ रुपैयाँले नपुग्ने भए पनि कहिलेकाहीँ आफ्नो खर्च कटाएर भएपनि विद्यार्थीलाई मासु खुवाउने गरेका रहेछन् ।
नियमित खाजाको समयमा जस्तै खाजा खाने समयमा विद्यालय पसेका चार जना विद्यार्थीको अवस्था भने फरक थियो ।
कक्षा १ का ६ वर्षीय रामशरण मिजार र उनका दाई ७ वर्षीय राजेन्द्र मिजार अरु विद्यार्थीभन्दा छुट्टै बसेका थिए । घुँडामा च्यातिएको पाइन्ट, एक जना शिक्षकले दिएको टिसर्ट, कालो खुट्टा लिएर मासु चिउरा खाँदै थिए ।
सबैजसो विद्यार्थी विद्यालय पोशाका थिए तर ति दाजुभाइ विद्यालय पोशाकमा थिएनन् । त्यहि एउटा पोशाक राति सुतेको बेला पनि लगाउने गर्दा गर्दै फाटेपछि उनीहरु अरुले दिएको लुुगा लगाउन विवस थिए ।
रामशरण र राजेन्द्र मात्र होइन उनीहरुका दिदी ९ वर्षीया पार्वती मिजार पनि सोही विद्यालयमा कक्षा ४ मा अध्ययन गर्छिन्।
नुवाकोटको तारुकाबाट तिनघरे आएर बसेका मिजार परिवारको जग्गाजमिन समेत नहुँदा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका थिए ।२ वर्षअघि उनीहरुका बाबु राजकुमार मिजारले आत्महत्या गरे ।
परिवार पाल्न नसकेपछि बालबालिकाहरु मामाघरको ७५ वर्षीया हजुरआमाकोमा छाडेर आमा जुठी मिजार तीन महिना अघि कुवेत पुगीन् ।
अहिले उनीहरु बिचल्लीमा परेका छन् ।
विहान उठेपछि धेरैजसो दिन ज्याला गरेर हजुरआमाले पकाएको खाना खाने तीन बालबालिकाहरु कहिलेकाहीँ भोकै विद्यालय आउने गरेको राजेन्द्रले नेपालले बताउनुभयो ।
विहान उठेपछि घरमा खानेकुरा नभएको दिनमा उनीहरु गाउँ चार्न निस्कन्छन् । केही पाए खाने, गाउँलेले दया गरेर दिए खाने गर्छन नदिए भोकै विद्यालय पुग्छन् ।
दिउँसोको विद्यालयको खाजा खाने समय कुरेर निन्याउरो मुख लगाएर बसिरहन्छन् । खाजा खाएपछि बल्ल उनीहरुको अनुहार उज्यालो देखिन्छ ।
अन्नपूर्ण आविमा उनीहरुजस्ता ७ जना बालबालिका छन् जो खाजा खानका लागि विद्यालय आउँछन् ।
कक्षा ५ सम्मको पढाइहुने ६६ जना विद्यार्थी रहेकोमा ५० जना दलित विद्यार्थीमात्र रहेको विद्यालयका प्रधानाध्यापक उर्मिला तिमल्सीनाले बताउनुभयो ।
उनीहरु अत्यन्त गरिब परिवारका बालबालिकामात्र भएको र गरिबीले गाँजेको गाउँ भएकोले सामान्य जिवन यापनका लागि समेत कठिन रहेको तिमल्सीनाले बताउनुभयो ।
गाउँमा भोटमाग्ने बेला सबै राजनीतिक दल र उम्मेदवारहरु पुगेपनि गरिबी र दुखको मलम लगाउन भने कोही गाउँमा नआएको गाउँबासीहरुको गुनासो छ ।
सरकारको ठूला योजना र स्थानीय सरकारले व्याख्या गरेको निःशुल्क शिक्षा भित्रबाट गिज्याइरहेको गाउँ हो तिनघरे । यी दलित समुदायले भोट दिने समयमा भन्दा बाहेक सरकारको अनुभुती गर्न पाएका छैनन् । तस्विर:सिताराम अधिकारी
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |