धादिङ–प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले पृथ्वी राजमार्गमा स्पिड लाइन, ट्राफिक सङ्केत र ऐनाको प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ ।
मंगलबार धादिङबेशीमा भएको जिल्ला प्रशासन कार्यालयसहित तीनवटै सुरक्षा निकाय, यातायात व्यवसायी, सडक आयोजना कार्यालयलगायतको संयुक्त बैठकमा प्रजिअ गैह्रेले आवश्यक स्थानमा स्पिड लाइनसहित ट्राफिक सङ्केत, ऐना आदिको प्रबन्ध मिलाउन सडक आयोजना तथा निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको हो ।
उहाँले राजमार्ग विस्तारका काम गर्ने सिलसिलामा सडक छेउकुनामा राखिएका निर्माण सामग्रीका कारण सवारी आवागमन अवरुद्ध हुन नदिन विभिन्न खण्डमा रहेको खाल्डाखुल्डी तत्काल पुरी सहज बनाउन पनि आग्रह गर्नुभयो।
जिल्लाभित्रका अन्य सडकमा समेत सहज ढङ्गले आवतजावतको व्यवस्था मिलाउन सडक मर्मतसम्भारलाई तीव्रता दिई अवरुद्ध रहेका सडक तत्काल सुधार गराउन एवं सञ्चालनमा रहेका सडकको स्तरोन्नति गर्न सम्बन्धित सडक कार्यालय/आयोजना र निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताउनुभयो।
चाडपर्वका समयमा मानिसको आवतजावत बढेसँगै सवारी चापसमेत वृद्धि हुने र सवारी दुर्घटना बढ्न सक्ने हुँदा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायीले सवारीको नियमित प्राविधिक परीक्षण गराई चुस्त अवस्थामा राख्ने, सवारी चालक तथा सहचालकलाई अनुशिक्षण र नियमितरूपमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।
यस्तै धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले राजमार्गको यात्रा सुरक्षित बनाउन र सड़क दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विभिन्न कार्यक्रमसहित नियमित जाँचलाई तीव्र बनाइरहेको भन्दै चालक सहचालकले मादक पदार्थ सेवन गरेर सवारी हाँकेको भेटिए अभद्र व्यवहारको मुद्दा चलाउने र बढी भाडा असुलेको फेला परे ठगी गरेको कसुरमा मुद्दा चलाइने बताउनुभयो ।
चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका छन् ।
राजमार्ग विस्तार भइरहेको अवस्थामा सहज ढङ्गले दुईतर्फी सवारीसाधनको आवतजावतको सुनिश्चितता गर्न एक भएर अघि बढ्ने संयुक्त निर्णय गरेका हुन् ।
चाडपर्वको समयमा सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा असुल गर्नेलगायत गुनासो आउन नदिने गरी आवश्यक सङ्ख्यामा सवारीको व्यवस्था गर्न सम्बन्धित व्यवसायी पनि सहमत भएका छन् ।
संघीय राजधानी भित्रने र बाहिरिने मुख्य राजमार्गको रूपमा रहेको त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको नागढुंगा–नौबिसे–मुग्लिङ सडक खण्डमा अत्यधिक खाल्डाखुल्डीका कारण यात्रा कष्टकर हुने गरेको छ ।
नागढुंगादेखि नौबिसेसम्मको सडक त अत्यन्तै जीर्ण भइसकेको छ ।जसका कारण सवारी साधन लामो जाममा पर्ने गरेका छन् भने यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।
दैनिक हजारौँ सवारी साधन र यात्रु ओहोर दोहोर गर्ने पृथ्वी राजमार्गको नौबिसे–मुग्लिङ सडक खण्ड विस्तार भइरहेको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |