धादिङ,०५ असार ।
धादिङको नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भिम प्रसाद ढुङगानाले राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांक तथ्यपरक नभएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
ढुङगानाले १० वर्षको अवधिमा नगरपालिकामा ३ सय १३ जना मात्रै जनसंख्या बढेको देखिएकोले यो गलत रहेको बताउनुभयो । मंगलबार तथ्याङ्क कार्यालय मकवानपुरले धादिङबेशीस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को धादिङ जिल्ला स्तरीय नतिजा सार्वजनिक कार्यक्रममा नगरप्रमुख ढुङगानाले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘जनगणना २०६८ को तथ्याङकलाई हेर्दा नीलकण्ठ नगरपालिकामा परिवार संख्या १३ हजार ९८४ र जम्मा जनसंख्या ५८ हजार ५१५ रहेको तर जनगणना २०७८ को तथ्याङकलाई हेर्दा १६ हजार ३९१ परिवार संख्यामा जनसंख्या ५८ हजार ८ सय २८ रहेको छ,यो गलत तथ्यांक हो ।’
उहाँले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकमा वास्तविक तथ्यांक नसमेटेकोले यस्तो गलत तथ्यांक सच्याउनुपर्ने बताउनुभयो ।नीलकण्ठ नगरपालिका आफैले १४ वटै वडाको सम्पुर्ण तथ्याकं संकलन गरी सार्वजनिक गर्ने पनि बताउनुभएको छ ।
कार्यक्रममा सहभागीहरुले सार्वजनिक तथ्यांकलाई लिएर तीव्र असन्तुष्टि व्यक्त गरेका थिए । कतिपय ठाउँमा दोहोर्याएर जनगणना भएको र कतिपय ठाउँमा गणक नै नपुगेको गुनासो गरेका थिए ।
कार्यक्रममा नतिजाको प्रस्तुतिकरणका क्रममा तथ्याङक अधिकृत रागिनी कुमारी बर्माले ७ सय ५३ वटै पालिकाले आफ्नो पालिकामा जनसंख्या कम भएको गुनासो गर्ने गरेको बताउनुभयो ।उहाँले जनगणनाका क्रममा गणक र सुपरभाइजरको कमजोरी तथा भुगोलको कारणले तथ्याङक तलमाथि भएको हुन सक्ने बताउनुभयो ।
कार्यक्रम आफ्नो भनाई राख्दै धादिङ सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले हरेक स्थानीय तहले आफ्नो यथार्थ तथ्यांक संकलन गर्नुपर्ने बताउनुभएको छ । उहाँले जनगणनासँग जोडिएका विषयको सम्बोधन स्थानिय राजनीतिक दलहरूका नेता, सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरूबाट मात्र सम्भव हुने पनि बताउनुभयो ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नजिता अनुसार २०६८ को तुलनामा शुन्य दशमलव ३९ प्रतिशतले धादिङको जनसंख्या घटेको पाइएको छ ।२०६८ को जनगणनामा धादिङको जनसंख्या ३ लाख ३६ हजार २२ रहेको थियो ।
केन्द्रिय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको २०७८ को प्रारम्भिक नतिजा अनुसार धादिङको जनसंख्या ३ लाख २२ हजार ७ सय ५१ मा झरेको हो । यो संख्या ६८ को भन्दा १३ हजार ३ सय १६ ले कम हो ।धादिङको लैङ्गिक अनुपात ९४ दशमलव ६ रहेको छ। महिला १ लाख ६५ हजार ५ सय ४४ गणना हुँदा पुरुष १ लाख ५७ हजार २ सय ७ रहेका छन् ।
महिला भन्दा पुरुष ८ हजार ३ सय ३७ घटी रहेका छन् ।नतिजा अनुसार सवैभन्दा धेरै जनसंख्या नीलकण्ठ नगरपालिकामा ५८ हजार १ सय ५१ रहेको छ भने सवैभन्दा कम जनसंख्या रुवीभ्याली गाउँपालिकामा १० हजार ४ सय ७२ रहेको छ । धादिङमा कुल ७८ हजार ६ सय ६३ घरधुरीमा ८४ हजार ४ सय ६३ परिवार संख्या बसोबास गरिरहेका छन् ।
घरधुरी र परिवार संख्या अनुसार भने सवैभन्दा धेरै घरपरिवार नीलकण्ठ नगरपालिका नै छ भने सवैभन्दा घरपरिवार खनियावास गाउँपालिका रहेको छ । यस्तै कुल १८ हजार ४ सय ६७ जना धादिङ भन्दा बाहिर (अक्सर विदेशमा) बसोबास गर्ने गरेको तथ्याङ्क रहेको छ । यो धादिङको कुल जनसंख्याको शुन्य दशमलव ८५ प्रतिशत हो । जसमध्ये १५ हजार २ सय ५८ जना पुरुष र ३ हजार २ सय ९ जना महिला रहेका छन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |