धादिङ,०९ बैशाख।
धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित च्याडुघुम्तीको डम्पिङ साइडमा आगलागी भएपछि यस क्षेत्रमा प्रदूषण फैलिएको छ ।
सदरमुकाम धादिङबेसी बजार क्षेत्रको फोहोर व्यवस्थान हुँदै आएको च्याडुघुम्तीमा जम्मा गरिएको फोहरमा सल्किएको आगोबाट निस्किएको धुवाँले गाउँ नै ढाकेको छ ।
फोहरमा आगलागी भएपछि एक सातादेखि फोहरको दुर्गन्धयुक्त धुवाँले आसपासका बस्तीमा प्रदूषण फैलिएको छ । नीलकण्ठ–८ को ससाह ज्यामिरे नीलकण्ठ–७ को मस्र्याङछाप, डमडाँडा, सिद्धलेक–१ को कालिदह,नयाँबस्ती लगाएतका बस्तीमा दुर्गन्धयुक्त धुवाँसहित प्रदूषण फैलिएको छ ।
फोहरको आगलागीको धुवाँले धादिङबेसी मलेखु सडकखण्ड हुँदै आवतजावत गर्ने नागरिकहरु समेत समस्यामा परेका छन् । दुर्गन्धले गर्दा चालक र यात्रुहरुलाई नाकमुख समाएर कष्टसंग डम्पिङ साइड क्षेत्र पार गर्नुपर्ने बाध्यता छ ।धुँवाले स्थानीयहरु विरामी पर्न थालेका छन् ।
आँखा पोल्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, वान्ता हुने जस्ता समस्या देखिएको ससाह ज्यामिरेका स्थानीय अर्जुन श्रेष्ठले बताउनुभयो ।एक साताअघि वनमा लागेको डढेलोले डम्पिङ साइडमा अव्यवस्थित ढंगले फालिएको फोहोरको थुप्रोमा आगो सल्किएको थियो ।
नीलकण्ठ नगरपालिकाले दमकलको प्रयोग गरेर आगो निभाएको भनेपनि फोहोरको डंगुरको भित्रसम्म पुगेको आगो अहिले झन बढेकोे छ । नगरपालिकाले डम्पिङ साइड व्यवस्थित गर्न नसक्दा दिनानुदिन समस्या बढ्दै गएको प्रभावित क्षेत्रका स्थानीयले बताएका छन् ।
दुर्गन्धले सास्ती भएको भन्दै नगरपालिकालाई पटकपटक ध्यानार्कषण गराउँदा छिट्टै व्यवस्थापन हुने आश्वासन मात्रै पाउने गरेको स्थानीयको भनाइ छ। धुवाँ र दुर्गन्ध बढेपछि स्थानीयहरु गाईबाख्रा चराउन समेत जंगल जान सकेका छैनन् ।
धुवाँले प्रदूषण फैलिएकोले यसले ज्येष्ठ नागरिक र बालबालिकालाई अझ बढी प्रभावित बनाएको भन्दै तत्काल आगलागीलाई नियन्त्रण गरी प्रदूषण फैलनबाट रोक्न स्थानियले माग गरेका छन् ।
करिब दुई दशकदेखि नगरपालिकाले च्याडुघुम्तीबाट थोपल खोला किनारमा सदरमुकाम धादिङबेसी बजारक्षेत्रको फोहोर फाल्दै आएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |