धादिङ,२६ बैशाख।
धादिङका थप एक जनामा डेंगु संक्रमण भएको छ । सोमबार नीलकण्ठ नगरपालिकाका एक पुरुषमा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
शुक्रबारमात्रै नीलकण्ठका २ जना र गंगाजमुनाका १ जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै धादिङमा संक्रमित हुनेको संङ्ख्या २ हजार ५ सय ९५ पुगेको छ । यो चालु् आर्थिक बर्षको २०७९ साउन १ गतेदेखी आजसम्मको तथ्याङ्क हो ।
संक्रमित हुनेमा १३ सय ८३ जना पुरुष र १२ सय १२ महिला रहेको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लाको १३ स्थानिय तहमध्ये सबैभन्दा बढि नीलकण्ठ नगरपालिकाका १६ सय ४१ जना संक्रमित भएका छन् । जिल्लामा डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन स्वास्थ्य कार्यालय धादिङले आग्रह गरेको छ।
कसरी सर्छ डेंगु ?
डेंगु ज्वोरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ । डेंगु कहिले पनि एउटा मानिसबाट अर्को मानिसमा सर्दैन ।
यो तब मात्र सर्छ जब एउटा लामखुट्टेले संक्रमित मानिसलाई टोक्छ र त्यो लामखुट्टेमा भाइरस बिकास भएर लामखुट्टेले त्यसपछी अर्को स्वस्थ मानिसलाई टोक्दा यो रोग सर्ने हो ।डेंगु भाईरसको चार प्रजाति छन् ।
एक पटक एउटा मानिसलाई एक प्रजातिको डेंगु भाईरसको संक्रमण भएपछि जीवनभर त्यसै प्रजातिको डेंगु रोग भने लाग्दैन, तर यदी अन्य प्रजातिको डेंगु रोग लाग्यो भने त्यो पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।
कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो ४–७ दिन भित्र मा रोगको लक्षण देखिन्छ। एउटा डेंगु रोगबाट सङ्क्रमित व्यक्तिको रगत चुसेको ८–१२ दिन पछी लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवन भर संक्रमित रहन्छ ।
लक्षणहरु
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५–७ दिनसम्म रहन सक्छ । ज्वरोको साथसाथै निम्न लक्षणहरु पनि देखा पर्दछन् :
– असाध्यै टाउको दुख्ने ।
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ।
– ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने ।
– शरीरमा विमिरा आउने ।
– धेरै ज्वरो आई माथिका लक्षणहरु मध्ये दुई वा दुईभन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ।
– वाक्वाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोश हुने आदि लक्षणहरु पनि देखा पर्न सक्छ ।
रक्तश्रावको खतरा हुने अवस्थाहरु
– लामो समयसम्म वेहोस भएमा
– जलवियोजन र वेहोस भएमा
– कलेजोमा खराबी उत्पन्न भएका
– दुखाई कम गराउने ब्रुफेन, निमेसुलाइड तथा एस्पिरिन जातका औषधीको प्रयोग गरेमा
– ग्यास्ट्राइटिसको समस्या भएका बिरामीमा
– रगत पातलो बनाउने औषधीको सेवन गरिरहेका बिरामीमा
– शरीरमा कुनै प्रकारको चोटपटक लागेमा
रोकथामका उपायहरु
– पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ
– पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नु पर्छ ।
– कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |