धादिङ–धादिङ प्रहरीले प्रेमिकाको हत्या गरी फरार रहेका प्रेमीलाई ६ वर्षपछि पक्राउ गरेको छ।
२०७४ साल असोज १२ गते साँझ धादिङको धुनीवेशी नगरपालिका–९ टायलघरस्थित अँधेरीखोलामा मोरङको विराटनगर महा नगरपालिका–५ की ३२ वर्षीया ललिता कुमारी रामको हत्यामा संलग्न रहेको आरोपमा सप्तरीको बोदेबसाइन नगरपालिका–८ काचनका ३५ वर्षीय अरूण कुमार मिजारलाई धादिङ प्रहरीले ६ वर्षपछि पक्राउ गरेको हो।
पक्राउ परेका मिजारलाई जिल्ला प्रहरी कार्यालय धादिङले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी मिझारलाई यही असोज ५ गते सप्तरी काचन बोदेबर्साइन नगरपालिका– ८ काचनबाट पक्राउ गरिएको धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
२०७४ असोज १२ गते ललिताको शव सडेगलेको अवस्थामा भेटिएको थियो। ललिता र अरूणबीच प्रेम सम्बन्ध रहेको त्यतिबेलैको अनसन्धानबाट खुलेको प्रहरी उपरीक्षक मिश्रले बताए।
प्रेम सम्बन्धमा रहँदा ललिता गर्भवती भएकी थिइन्। ललिताको साथबाट बरामद भएको मोबाइलबाट अनुसन्धान गर्दा उनले आफू गर्भवती भएकोबारे कुमारलाई बताउँदै विवाहका लागि आग्रह गरेकी थिइन्।तर, विभिन्न बहाना देखाएर विवाहबाट पन्छिरहेका अरूण ललिताको हत्या गर्ने निष्कर्षमा पुगेका थिए।ललिता स्टाफ नर्सको अध्ययन सक्काएर बसेकी थिइन्। उनी कामको खोजीमा थिइन्।
त्यतिबेला अरूणले कुनै अस्पतालमा काम लगाइदिने भन्दै काठमाडौं बोलाएका थिए।सोहीअनुसार ०७४ भदौ २१ गते विराटनगरबाट काठमाडौं आएकी ललिताको हत्या गरी टायलघरस्थित अधेरीखोलामा फालेर अरूण फरार भएका थिए। ६ वर्षपछि पक्राउ परेका अरुण आफैंले ललिताको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाई छ।
हत्या कसले गरेको भन्नेसम्म पुग्न त्यतिबेला प्रहरीलाई तीन महिना लागेको थियो। शव सडेगलेको अवस्थामा भेटिएका कारण पनि प्रहरीलाई हत्यारासम्म पुग्न समय लागेको हो।
प्रहरीको अनुसन्धान चलिरहँदा ०७४ असोज ३१ गते अरूण दुबई फरार भएका थिए। त्यतिबेलासम्म प्रहरीले हत्याराको क्लू नभेट्टाएका कारण उनी भाग्न सफल भएका थिए।
पछि विभिन्न कोणबाट अनुसन्धान गरेपछि मात्रै अरूणले नै ललिताको हत्या गरेको निष्कर्षमा पुगेपछि ०७४ पुस २१ गते ललिताको परिवारले उनीविरूद्ध किटानी जाहेरी दिएका थिए।उनी दुबई, मलेसिया लगायत विभिन्न देशमा लुकिछिपी बस्दै आएकोमा केही समयअघि नेपाल फर्किएको भन्ने सूचना प्राप्त भएपछि बाग्मती प्रदेश प्रहरी कार्यालयको सहयोगमा सप्तरीस्थित घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए।
पक्राउ परेका उनीविरूद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मिश्रले बताए।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |