धादिङ । धादिङमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक पुर्व समीक्षा गरिएको छ ।
आईतबार धादिङबेशीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) धादिङले वर्ष पुस्तकको अर्धवार्षिक पुर्व समीक्षा गरेको हो ।
कार्यक्रममा ईन्सेक धादिङका प्रतिनिधि सीताराम अधिकारीले ईन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकको आधा वर्षको वर्ष पुस्तकका लागि संकलित घटनाहरुका बारे जानकारी गराउदै पृष्ठ पोषण गर्नुभएको थियो ।
सन् २०२४ जनवरी देखि जुनसम्म कारागारमा १ जनाको मृत्यु, बालिका बलात्कारका ८ वटा, महिला बलात्कारका ५ वटा, बलात्कार प्रयासका २ वटा, घरेलु हिंसाका ८ वटा, बहुविवाहका १ वटा, बालक अपहरणको १ वटा, आत्महत्या दुरुत्साहनका २ वटा, विद्यार्थी कुटपिटका १ वटा, अपांगता अधिकार उल्लंघनका १ वटा घटना गरि ३० घटनामा २७ महिला र ३ पुरुष पीडित रहेको अधिकारीले जानकारी दिनुभयो ।
छलफल कार्यक्रममा बालविवाह, बहुविवाह, बालश्रम, बलात्कार, धादिङमा घटिरहेका घटना र त्यसका प्रकृति, मुद्धा फस्र्याैटपछि पीडितले पाउने क्षतिपूर्ति लगायतका विषयमा छलफल गरिएको थियो ।
पीडित मुद्धा खेप्दादेखि मुद्धा हारजित भएपछि पनि समस्यामा पर्ने गरेको सहभागीहरुले बताएका छन् । पीडितले पाउनुपर्ने क्षतिपूर्ति सुनिश्चिता नहुनु र पछि घर गाउँमा फर्किएर पुर्नस्थापनामा देखिने जटिलताले पीडित पिडाबाट उम्कन नसकेको जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विकले बताउनुभयो ।
त्यस्तै, राज्यले कानुन बनाएपनि कार्यान्वयन पक्ष फितलो हुदा पीडितले यस्ता समस्या झेल्नु परेको सहभागीहरुले गुनासो पोखेका छन् । बालमैत्री शासन व्यानर र हस्ताक्षरमा सिमित छ । तर बालश्रम, बालविवाह, बालिका बलत्कार लगायतका घटना यत्रतत्र भइ रहेका छन् । तिनै तहको सरकार जिम्मेवार हुन नसक्दा यस्तो परिणाम आएको उनीहरुले गुनासो गरे ।
अधिवक्ता राधिका सापकोटाले पीडकलाई दिने सेवामा भन्दा पीडितलाई दिने न्याय र सुरक्षामा जोड दिनु पर्ने बताउनुभएको छ। मुद्धाको दौरानमा पीडितले खेप्नु पर्ने सास्ति भनि साध्य नभएको र मुद्धा फैसलापछि दिगो समाधानको उपाय र पीडितलाई न्याय दिलाउन पीडकलाई सजाय दिलाउन सरकारले योजनावद्ध लाग्नुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले प्रहरीको थुनुवा कक्ष लगायतका प्रहरी अनुसन्धानको सबै क्षेत्र मानव अधिकारमैत्री भएको बताउनुभयो ।
पीडित र पिडक दुवैको मानव अधिकार हनन् हुने काम नभएको दावी गर्नुभयो । कहिलेकाही केशहरु होस्टाएल हुने गर्दा न्याय निरुपणमा समस्या भएपनि नागरिकले न्यायालयको महसुस गर्ने गरी काम भइरहेको उहाँले दावी गर्नुभयो ।
नेपाल मानवअधिकार संगठनका अध्यक्ष अधिवक्ता कृष्णराज अधिकारीले जनताको मानव अधिकारका लागि एक जुट हुनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष राजाराम शर्माले मानव अधिकार एउटाको मात्र विषय नभएकोले साझा सवालमा साझा अभियानका साथ अघि बढ्नु पर्ने बताउनुभयो ।मानव अधिकार सुनिश्चित र पैरवी गर्न पत्रकारिताको माध्यमबाट पत्रकार र संचारमाध्यमले पनि संगसँगै सहयात्रा गर्दै आएको बताउनुभयो ।
दलित सेवा संघका अध्यक्ष श्याम मगरातीले जातिय आधारमा हुने विभेदको स्वरुप परिवर्तन भएको बताउनुभयो ।
अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा सहभागीहरुले दिएको सुझावको आधारमा परिस्कृत गरि इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक प्रकाशन गरिने इन्सेक प्रतिनिधि सिताराम अधिकारीले जानकारी दिनुभयो ।
ईन्सेकले हरेक वर्ष मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आइरहेको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |