धादिङ । सदरमुकाम धादिङबेशीमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट एक वर्षमा झण्डै ६० हजार बिरामीले सेवा लिएका छन् ।
चालु आर्थिक बर्षको साउनदेखी असार १५ गतेसम्मको तथ्याङ्क अनुसार चिकित्सालयबाट ५९ हजार ८ सय २१ जनाले सेवा लिएको चिकित्सालयका प्रमुख डा.अमुल्य दाहालले जानकारी दिनुभयो ।
बुधबार आयुर्वेद सेवा प्रवद्र्धन गर्न धादिङका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै यसबारे जानकारी दिनुभएको हो ।
उहाँका अनुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट २३ हजार ५ सय ४६ विरामीहरुले सेवा लिएका छन् ।
जसमध्ये बहिरंग सेवा ८ हजार ३८ जना, जेष्ठ नागरिक १ हजार ९ सय ४०, स्तनपायी आमा १ सय ६९, पूर्वकर्म/पञ्चकर्म ४ हजार ८ सय ३७, प्याथोलोजी ल्याब ४ हजार ५ सय ७२, अकुपन्चर सेवा १ हजार ६ सय ५९, फिजियोथेरापी सेवा ९ सय ९०, योग सेवा ७ सय ७८ र स्वास्थ्य शिविर ५ सय ६६ जनाले सेवा लिएका छन् ।
त्यसैगरी नागरिक आरोग्य सेवा केन्द्रबाट ११ हजार ५ सय ७३ जना र आयुर्वेद औधालयबाट २४ हजार ७ सय २ गरि जम्मा ५९ हजार ८ सय २१ जनाले सेवा सेवा लिएको डा.दाहालले बताउनुभयो ।
अन्तरक्रियामा सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले पछिल्लो समयमा आयुर्वेद सेवा प्रति आम नागरिकहरुको विश्वास बढ्दै गएको बताउनुभयो। आयुर्वेद सेवाको बारेमा अझै पनि नागरिकहरुलाई जानकारी नभएको हुनाले आम संचार माध्यमबाट प्रसारण र प्रकाशन गरि सहयोग गर्न आग्रह समेत गर्नुभएको छ।
नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ बहुमुखी क्याम्पस अगाडी रहेको आयुर्वेद औषधालय आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको रुपमा विस्तार भएसँगै १६ बेडको अस्पतालमा स्तरोन्नति भएको छ ।तर १६ शय्याको अस्पताल संचालन गर्न मिल्ने आफ्नै भवन नहुँदा सेवा दिन कठिनाई भैरहेको डा.दाहालले बताउनुभयो ।
भौतिक संरचना, वजेट लगायत विविध कारण २५ शय्याको सञ्चालन गर्न समस्या भएर १६ शय्या सञ्चालन गरिएको उहाँको भनाई छ । अस्पताल निर्माणका लागि जग्गा लिएको र डिपिआरको प्रक्रिया अघि बढी सकेको भन्दै उहाँले अब औषधालय आएका विरामीलाई भर्ना गरेर पनि सेवा बताउनुभएको छ ।
नयाँ भवन निर्माणको काम पूरा नहुन्जेल अहिले तत्कालका लागि घर भाडामा लिएर सेवा प्रवाह गरिने उहाँको भनाई छ । विरामीहरुलाई चौविसै घण्टा सेवा दिन सकिने भन्दै औषधिको विविधता तथा परिमाण आवश्यकता भन्दा न्यून मात्रै उपलब्ध हुनुले पनि सेवाग्राहीलाई सहज रुपले सेवा दिन अप्ठ्यारो हुने गरेको बताउनुभयो ।
आयुर्वेद औषधालय वैकल्पिक उपचार विधि अन्तर्गत बहिरंग सेवा, प्याथोलोजी ल्याव, अकुपंचर सेवा, पुर्वकर्म र पंचकर्म सेवा, फिजिओथेरापी लगायतको निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम मार्फत ३० वर्ष भन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको आयुर्वेद चिकित्सकका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
धादिङ र गोर्खाका विभिन्न ठाउँबाट दैनिक ३५ जना भन्दा माथि चेकचाँज गर्न विरामीहरु आउने गरेको उहाँले बताउनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिभिन्न २३ प्रकारको आयुर्वेद औषधी निशुल्क पाउने र शशुल्क फार्मेशीमा बिभिन्न ६० प्रकारको औषधी पाईने पनि बताउनुभयो।
औषाधालयले बिभिन्न स्थानमा भान्साघर औषधालय कार्यक्रम महिला तथा आमा समुहमा समेत सञ्चालन गर्दै आएको छ । जिल्ला भर १० वटा आयुर्वेद संस्थाहरू सञ्चालित छन् ।
धादिङबेशीको चिकित्सालय सहित ६ वटा स्थानीय तह सिद्धलेक, नेत्रावती डवजोङ, खनियाबास, ज्वालामुखी गाउँपालिका र धुनिबेशी नगरपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिन थालिएको छ भने ज्यामरुङ, गजुरी, बैरनी र सेर्तुङमा औषाधालय सञ्चालनमा छन् ।
आयुर्वेद स्वास्थ्य संस्थाबाट साधारण उपचार, स्तनपायी, ज्येष्ठ नागरिक, पूर्वकर्म पञ्चकर्म, शिविर लगाएतका बिभिन्न कार्यक्रम सञ्चालन गरिदै आएको छ।
विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धति मानिन्छ। यसले गर्दा पनि पछिल्लो समय आयुर्वेद उपचारमा धेरैको आकर्षण बढ्दै गएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |