धादिङ । थाक्रे गाउँपालिका–६ रानीबारीमा मकैका घोगा कुहिएर बोट सुकेपछि किसान चिन्तित बनेका छन् ।
बिरुवा उम्रिएपछि राम्रोसँग हुर्किए पनि दाना लाग्नेबेला घोगा कुहिएर गन्हाउन थालेको रानीबारीका किसान हरि थापाले बताउनुभयो ।बोटमा घोगा कुहिएर गन्हाएकाले अहिले किसान बारीमा जान सक्ने अवस्था नरहेको थापाले बताउनुभयो ।
पोलेर खान मिल्ने भएदेखि हरियो घोगा बेचेर नगद लिने किसानले अहिले आफैँले मकै खान नपाएपछी किसान चिन्तामा छन् ।
गाँउपालिकामार्फत वडा कार्यालयले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको मकैको बीउ लगाएको थापाले बताउनुभयो ।
थापाले भन्नुभयो,“बिरुवा हुर्कदासम्म राम्रै देखिन्थ्यो । जब बोटले सुत्ला च्याप्ने बेला भयो जुँगा चाहिँ सेतो निस्कियो, घोगामा दाना लाग्न थालेपछि बोटसहित घोगा कुहिन थाल्यो केही दिनपछि बोटै सुक्न थाल्यो ।”
वडा नं ६ को रानीबारीका मात्रै ६० जनाभन्दा बढी किसानले यही समस्या भोग्नुपरेको छ ।
स्थानीय सरकारले अनुदानमा उपलब्ध गराएर रानीबारीका किसानले लगाएको मकै सिपी जातको हो ।
परम्परागत मकैको बिउ लगाउनेले अघिल्लो वर्षकै जस्तो फलाएको किसान गुरुदत्त गर्तौलाले बताउनुभयो ।
१८ रोपनी बारीमा आठ किलोग्राम सिपी जातको मकै लगाएको भन्दै उहाँले बिरुवा उम्रदा बारीमा बोट राम्रै भएको,सुत्ला पनि राम्रै देखिएको तर दान लाग्न सुरु भएपछि धानचमारा सुक्न थालेको बताउनुभयो ।सेतो जुँगा भएको मकैमा यो समस्या देखिएको गर्तौलाको बुझाइ छ । “मेरो बारीमा १५ देखि १८ क्विन्टल मकै फल्थ्यो । यस वर्ष एक घोगा घरमा ल्याउन पाइएन”, उहाँले भन्नुभयो।
धेरै फलाउने आशामा रहेका किसानले मकै भित्र्याउन नपाएका रानीबारीका किसान कृष्णबहादुर थापाले गुनासो गर्नुभयो । “भएजति बारी सबै ठाउँमा यही बीउ लगाएँ। अहिले पोलेर खान पनि पाइन”, उहाँले भन्नुभयोे, “सरकारले मकैको क्षतिपूर्ति दिनुपर्छ।”
गाउँपालिकामार्फत वडा कार्यालयले अनुदानमा उपलब्ध गराएको मकैमा समस्या देखिएको जानकारी वडा र गाउँपालिका कार्यालयलाई भएको वडा नं ६ का वडाध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।
“कृषि शाखामार्फत बीउ खरिद तथा वितरण गरेका थियौँ । अहिले समस्या आएपछि स्थलगत अवलोकन गरेर अनुसन्धान गरिरहेका छौँ । किसानको हितमा के गर्न सकिन्छ छलफल पनि भइरहेको छ”, उहाँले भन्नुभयोे ।
यस वर्ष एक हजार दुई सय ३० किलो बीउ वितरण गरेकामा तीन सय २० किलोमा समस्या देखापरेको कृषि शाखा प्रमुख सौगात थापाले जानकारी दिनुभयो।
मकैको बीउ सप्लार्यस कम्पनी कर्मा सिड र स्थानीय बिक्रेता वाग्ले एग्रोभेटलाई पत्राचार गरी कारण पत्ता लगाउन भनिएको उहाँले बताउनुभयो ।
बीउ खराबीका कारण समस्या आएको भए किसानले क्षतिपूर्ति पाउने उहाँको भनाइ छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |