धादिङ,०५ पुष । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा आयुर्वेद सेवा प्रवद्धर्नका लागि स्थानीय स्तरका पत्रकारहरुसँग भएको अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । धादिङमा आयुर्वेद उपचार पद्धतीमा नागरिकको विश्वास बढदै गएको र सेवा लिने बिरामीहरु बढ्दै गएकाे केन्द्रका सुचना अधिकारी प्रकाश सापकोटाले बताउनुभयो।विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धति मानिन्छ। यसले गर्दा पनि पछिल्लो समय आयुर्वेद उपचारमा धेरैको आकर्षण बढ्दै गएको छ । आयुर्वेद स्वास्थ्य संस्थाबाट साधारण उपचार, स्तनपायी, ज्येष्ठ नागरिक, पूर्वकर्म पञ्चकर्म, शिविर लगाएतका बिभिन्न कार्यक्रम सञ्चालन गरिदै आएको छ । गत आ.व. २०७८/७९ को कार्य प्रगति विवरण प्रस्तुत गर्दै सुचना अधिकारी सापकोटाले गत आर्थिक बर्षमा मात्रै केन्द्रबाट ३० हजार बढि नागरिकले सेवा लिएको बताउनुभयो । उहाँले हाल जिल्लाको ६ वटा स्थानीय तहबाट आयुर्वेद स्वास्थ्य सेवा प्रवाह भईरहेको भन्दै आयुर्वेद स्वास्थ्य केन्द्रले २५ बेडको अस्पताल सञ्चालनमा ल्याउने पनि बताउनुभयो । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङकी प्रमुख डा.सुईरा जोशीले केन्द्रबाट प्रदान गरिदै आएको सेवाहरु,षडरसयुक्त खाना, दैनिक आहारमा आवश्यक बिबिध र पौष्टिक खानेकुराको संरचना, स्वस्थ्य आहार, दिनचर्या, भोजन र भोजनविधि,योगा तथा खानपान सम्बन्धी ध्यान दिनुपर्ने कुरा लगायतका विषयमा सहजिकरण गर्नु भएको थियो । डा जोशीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिभिन्न २३ प्रकारको आयुर्वेद औषधी निशुल्क पाउने बताउनु भयो । त्यस्तै केन्द्रमा हाल शशुल्क फार्मेशी पनि सञ्चालनमा आएको भन्दै डा.जोशीले फार्मेशीमा बिभिन्न ६० प्रकारको औषधी पाईने बताउनु भयो ।सदरमुकाम धादिङबेशीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने सिद्धलेक, नेत्रावती डवजोङ, थाक्रे, गल्छी, ज्वालामुखी गाउँपालिका र धुनिबेशी नगरपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिन थालिएको छ । अन्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले आयुर्वेद स्वास्थ्य केन्द्रमा उपलब्ध सेवाहरु प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका संचालन तथा व्यवस्थापन समिति अध्यक्ष भरत ढुङगानाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा स्वास्थ्य केन्द्रका कर्मचारी तथा पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा लगायत बिभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |