नेकपा एमालेको बाग्मती प्रदेश अधिवेशन आज र भोलि काठमाण्डौ भृकुटीमण्डपमा हुँदैछ । एमालेका अनुसार अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।
उक्त अधिबेशनका लागि धादिङबाट ८६ जना प्रतिनीधि छनोट भएका छन् ।धादिङ प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट ५४ जना र २ बाट ३२ जना रहेका छन् जसमा महिला प्रतिनीधिको संख्या २५ र पुरुष प्रतिनीधिको संख्या ६१ जना रहेको छ।
आज हुने उद्घाटन सत्रको लागि भने करिब ५ हजार भन्दा बढि एमाले कार्यकर्ताहरु काठमाण्डौ जान लागिएको नेकपा एमाले धादिङको उप-सचिव राधिका सापकोटाले जानकारी दिनुभयो।
एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि अहिलेसम्म करिब डेढ दर्जनले आकाङ्क्षा राखेका छन् । अहिलेका अध्यक्ष केशव पाण्डे, बाग्मती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यहरु कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहाल लगायतले नेतृत्वका लागि दाबी गर्दै आएका छन् ।
एमालेको बाग्मती प्रदेश अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित हुनेछ । कमिटीमा ३३ प्रतिशत महिला तथा १० प्रतिशत युवाका लागि सिट आरक्षण गरिएको छ । एमालेले प्रदेश अधिवेशनमा अधिकतम सहमतिको प्रयास गर्ने, तर सहमति नभएको अवस्थामा मात्र चुनावको विकल्प खुला राख्ने नीति तय भएको छ ।
अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।अधिवेशनलाई प्रविधिमैत्री बनाउन उद्घाटन रोबोटको माध्यमबाट गरिने एमालेले जनाएको छ । नेतृत्व चयनमा सर्वसम्मति नभए विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान गराइने गरी तयारी भइरहेको जनाएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |