धादिङ-खुम्रेकिराको प्रकोपले धादिङको गजुरी गाउँपालिका–३ पुराकसिङका किसान आजित बनेका छन् ।
१४ घर चेपाङ र १७ घर तामाङ समुदायको बसोबास रहेको गाउँ पुराकसिङमा २०७२ सालको भुकम्पपछिबाट देखापरेको खुम्रेकीराले बाली सखाप पारेसँगै स्थानियहरु आजित बनेका हुन् ।
बारीमा लगाएको फलफूल, तरकारी, कोदो मकै सबै खुम्रेकिरा नष्ट गरिदिने भएपछि बसाइँ नै सर्नुपर्ने सोचमा पुगेको स्थानीय हुन्डरी तामाङले बताउनुभयो ।आफूहरुलाई खानपुग्ने जग्गाजमिन भएपनि बाली उम्रेपछि खुम्रेकिराले नष्ट गरिदिने भएपछी यो ठाउँमा खेती किसान गरेर बस्न नसक्ने अवस्था आएको तामाङले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘भकारोदेखि बारीसम्म जहाँ पनि खुम्रे किराले सताएको छ,भकारोमा मल बोक्दा पनि खुम्रे किरा छानेर लान्छौँ, विषादी पनि छ¥यौँ तर कसैगरी पनि खुम्रेकिरा नियन्त्रण भएनखेती लगायो खुम्रे किराले खाइदिन्छ, भित्र्याउन पाइँदैन।’
पुराकसिङ खाद्य अधिकार प्रभावित समूहका अध्यक्षसमेत रहनुभएका तामाङले कोल्टो र भिरालो जमिनमा बलौटे माटो भएकाले पनि खुम्रेकिराले बढी सताएको भन्दै गाउँ नै छाड्नुपर्ने बाध्यता बनाएको बताउनुभयो ।खेती खुम्रेकिराले खाइदिएपछी अहिले यहाँका स्थानियले ज्याला मजदुरी गरेर दुई छाक जोहो गरिरहेको उहाँको भनाई छ ।
आफूले जानेका, अरूले भनेका, प्राविधिकहरुको सल्लाह लिएर खुम्रेकिराको नियन्त्रणको लागि गरेको प्रयास सबै असफल भएको अर्का स्थानीय पूर्णबहादुर प्रजाले भन्नुभयो ।माटोभित्र बस्ने किराले जुनसुकै बालीको पनि जरा खाइदिने भन्दै उहाँले यो पटक पनि बारीमा लगाएको कोदो पहेँलो भएर सुक्न थालेको बताउनुभयो ।
सिन्धुपाल्चोकमा बिजुली बत्ती आएपछि खुम्रेकिरा नियन्त्रण भयो भन्ने सुनेका यहाँका किसान पनि गाउँमा बत्ती बलेपछि लाइटिङ प्रविधिबाट किरा नियन्त्रण हुने आशमा रहेको बताउनुभयो ।
खुम्रेकिराको आयु ३ वर्षको हुने भएकाले उपचार विधि भनेको माटो उपचार गर्नु र अर्को उपाय बिजुली बत्तीमा किरालाई आकर्षित गर्नु रहेको यस क्षेत्रमा खाद्य अधिकारका लागि कार्यरत संस्था फियान नेपालका बागमती प्रदेश संयोजक राजेन्द्र बस्नेतले बताउनुभयो ।
उहाँले भन्नुभयो‘मकै र कोदोलगायत बालीको जरा खाएर क्षति गर्ने खुम्रेकिरा माटोमुनि धेरै समय रहन्छ,विषादी प्रयोग गर्दा पनि नियन्त्रण भएन अब विकल्प भनेको बिजुली बत्ती हो । गाउँमा बत्ती आउँदैछ, यसले खुम्रेकिराको नियन्त्रण गर्न सकिन्छ कि भन्ने आश छ।’
अहिलेसम्म विजुली बत्ती नपुगेको उक्त गाउँका स्थानियहरुले गत जेठ १२ गते नेपाल विद्युत प्राधिकरण धादिङ शाखामा मागपत्र बुझाएसँगै अहिले विद्युत विस्तार गर्न धमाधम काम भईरहेको छ।
खुम्रेकिराको वैज्ञानिक नाम फाइलोफागा एसपिपी हो । खुम्रेकिरा सबैभन्दा विनाशकारी किट किरा हो । खुम्रेकिराको वयस्कहरु खपटे समूहमा पर्दछ । खुम्रेकिरा माटोभित्र बसी बिगार गर्ने किराहरुमध्ये सबैभन्दा विनाशकारी किरा हो ।
यसले बाली उम्रिसकेपछि कलिलो बिरुवाको जराहरु खान्छ । जसले गर्दा बिरुवाहरु बढ्न सक्दैन र सुक्दै गएर मर्छ । विशेषगरी लार्भा अवस्थामा र पानी नजम्ने जग्गा, पाखोमा बढी क्षति पु¥याउँछ । यसले मकै, कोदो, तरकारी बालीहरु आलु, सिमी, बोडी, अदुवा र चिया खेतीमा समेत यसले क्षति पु¥याउँछ ।
यस्को नियन्त्रण गर्न पुराकसिङवासीले धेरै प्रकारका विषादीहरु पनि प्रयोग गरिसकेका छन् । नियन्त्रण गर्न नसक्दा विकल्पको पर्खाइमा रहेका छन्।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |