धादिङ । सदरमुकाम धादिङबेशीस्थित एक तोरी मिलमा चोरी भएको छ।
नीलकण्ठ नगरपालिका-३ गणेशटोलमा रहेको श्री न्यौपाने तेल मिलमा काम गर्ने कामदार र छिमेकीहरु मिलेर चोरी गरिएको तेल छिमेकी घरहरुबाट ठूलो परिणाममा प्रहरीले आइतबार बरामद गरेको छ।
लामो समयदेखि मिलमा काम गर्ने कामदार रमेश गुरुङले चोरी गर्दै आएको शंका लागेपछि मिल सञ्चालकले आन्तरिक रुपमा छानबिन गरी जिल्ला प्रहरी कार्यालय धादिङमा आइतबार उजुरी गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरी हिरासतमा लिएको छ भने छिमेकी तिन जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो।
मिल सञ्चालकले कामदार रमेश गुरुङलाई सबै जिम्मा लगाएर घर जाने गरेको र त्यसैको मौका उठाइ छिमेकीहरूसँग मिलेर चोरी गरेर तेल लुकाउने गरेको मिल सञ्चालकले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ।
मुख्य आरोपित गुरुङले सबैभन्दा नजिकको छिमेकीको घरमा राखेको २ सय १५ तोरीको तेल जर्किन, गाग्री तथा अन्य भाडामा राखिएको अवस्थामा प्रहरीले बरामद गरेको छ भने अन्य छिमेकीको घरबाट ६५ लिटर तेल बरामद गर्दै छानबिनका लागि ३ जना घरधनी र एक जना कोठा भाडामा बस्नेलाई पक्राउ गरेको छ ।
मिलमा काम गर्ने कामदार गुरुङले राती १ बजेभन्दा पछि मिलमा लगाइएको सिसी क्यामरा अफ गरेर छिमेकीसँगको सहकार्यमा चोरी गरेर तेल र सोही मिलमा कुटानी गर्ने गरिएको चामल बिक्री गर्ने गरेको पाइएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |