धादिङ । लामो समयदेखि खुम्रेकिरा प्रकोपबाट आजित बनेका गजुरी गाउँपालिका–३ पुराक्सिङबासीले खुम्रेकिरा नियन्त्रण गर्न लाइट ट्रयाप (बत्तीको पासो) प्रयोग गर्न थालेका छन् ।
१५ घर चेपाङ र १७ घर तामाङ गरी ३२ घर परिवार बसोबास रहेको पुराक्सिङ गाउँमा २०७२ सालको भुकम्पपछिबाट देखापरेको खुम्रेकीराले बाली सखाप पार्न थालेपछी नियन्त्रण गर्न बत्तीको पासो प्रयोग गरेका हुन् ।
किरा नियन्त्रण गर्न बारीका पाटामा एक सय ६० वटा विद्युतीय पासो जडान गरिएको छ ।
गजुरी गाउँपालिकाको आर्थिक सहयोग,कृषि शाखाको प्राविधिक सहयोग तथा फियान नेपालको सहकार्यमा जडान गरिएको लाइट ट्रयापको बुधबार गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले उद्घाटन गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले लामो समयदेखी अन्धकारमा रहेका यो गाउँमा निकै प्रयासपछी बिजुली बत्ती ल्याउन सफलभएसँगै जिल्लामै पहिलो पटक खुम्रेकिरा नियन्त्रणका लागि यो विधिको प्रयोग गरिएको बताउनुभयो ।
आफु निर्वाचित भएपछि फियान नेपाल मार्फत खुम्रेकिराको प्रकोपका कारण पुराक्सिङबासी खाद्य संकटमा परेको र उनीहरुको खाद्य अधिकार गुमेको जानकारी पाएपछि स्थलगतरुपमा अनुगमन गरेर गाउँपालिकाबाट पाँच लाख बजेट व्यवस्थापन गरी लाइट ट्रयाप जडान गरिएको श्रेष्ठले बताउनुभयो।
उहाँले यो विधि प्रभावकारी भएमा आगामी दिनमा अझै बजेट व्यवस्थापन गरेर बृहत रुपमा जडान गरिने भन्दै यस्को प्रयोगबाट उठ्ने बिद्युत महशुलसँगै आउने खर्च गाउँपालिकाले व्यहोर्ने बताउनुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष सर्मिला विसुरालले गाउँपालिकाले निरन्तर जनताको सवालमा काम गर्दै आएको भन्दै खुम्रेकिरा नियन्त्रणको निरन्तरताका लागि आगामी वर्ष पनि बजेट व्यवस्थापन गर्ने बताउनुभयो ।
यो बिधिको प्रयोग नेपालमै दोस्रो पटक भएको यस क्षेत्रमा खाद्य अधिकारका लागि कार्यरत संस्था फियान नेपालका बागमती प्रदेश संयोजक राजेन्द्र बस्नेतले बताउनुभयो ।
यस्को प्रयोग हेर्दा खर्चिलो भएपनि दिगो हुने भन्दै बस्नेतले पालिकाको २० प्रतिशत भूभाग खुम्रेकिराबाट प्रभावित रहेकोले यो सफल भयो भने पालिका भरी नै जडान गरिने बताउनुभयो । यो बिधि निरन्तर ४ बर्षसम्म गर्नुपर्ने भएकाले पिछडिएको समुदायको राहतको लागि बिद्युत महशुलसँगै आउने अन्य खर्च वापत बार्षिक रुपमा २ लाख बजेट विनियोजन गर्न गाउँपालिका अध्यक्ष श्रेष्ठलाई आग्रह गर्नुभयो ।
गाउँपालिका कृषि प्राविधिक अशोक श्रेष्ठले यो बिधि प्रभावकारी हुने बताउनुभएको छ । ‘बत्तिमा किराको आकर्षण हुने भएकाले खुम्रेकिराको माउ आकाशमा उडिरहेको हुन्छ,साँझ १० बजेको अन्तरालमा बत्ति बाल्नुपर्छ,बत्ति मुनि बाल्टिमा किरा मात्रै डुब्ने गरी पानि राखेपछी किरा बत्तिमा ठोकिएर पानी भएको बाल्टिमा डुब्छ,यसरी माउलाई नियन्त्रण गरेपछी संख्या घट्दै जान्छ’, उहाँले भन्नुभयो ।
खुम्रेकिरा नियन्त्रण गर्न नसक्दा गाउँ नै भोकमरीमा पर्ने अवस्था रहेको गाउँमा यो प्रविधिले पक्कै पनि नियन्त्रण गर्न सकिने स्थानियको विश्वास छ ।
बारीमा लगाएको मकै, कोदो, आलुलगायत तरकारी बाली खुम्रेकिराले सखाप बनाएपछि गुजारा चलाउनै मुस्किल बनिरहेको बेला यो प्रविधि जोडेपछी नियन्त्रण हुने आशा जागेको पुराक्सिङ खाद्य अधिकार प्रभावित समूहका अध्यक्ष हुन्डरी तामाङले बताउनुभयो ।
आफूले जानेका, अरूले भनेका, प्राविधिकहरुको सल्लाह लिएर खुम्रेकिराको नियन्त्रणको लागि गरेको प्रयास सबै असफल भएको तर यो बिधिमा विश्वास रहेको अर्का स्थानीय पूर्णबहादुर प्रजाले भन्नुभयो ।खुम्रेकिराको आयु ३ वर्षको हुने भएकाले उपचार विधि भनेको माटो उपचार गर्नु र अर्को उपाय बिजुली बत्तीमा किरालाई आकर्षित गर्नु नै रहेको फियान नेपालका बागमती प्रदेश संयोजक बस्नेतले बताउनुभयो ।
खुम्रेकिराको वैज्ञानिक नाम फाइलोफागा एसपिपी हो । खुम्रेकिरा सबैभन्दा विनाशकारी किट किरा हो । खुम्रेकिराको वयस्कहरु खपटे समूहमा पर्दछ । खुम्रेकिरा माटोभित्र बसी बिगार गर्ने किराहरुमध्ये सबैभन्दा विनाशकारी किरा हो ।यसले बाली उम्रिसकेपछि कलिलो बिरुवाको जराहरु खान्छ । जसले गर्दा बिरुवाहरु बढ्न सक्दैन र सुक्दै गएर मर्छ । विशेषगरी लार्भा अवस्थामा र पानी नजम्ने जग्गा, पाखोमा बढी क्षति पु¥याउँछ । यसले मकै, कोदो, तरकारी बालीहरु आलु, सिमी, बोडी, अदुवा र चिया खेतीमा समेत यसले क्षति पु¥याउँछ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |