धादिङ ।उत्तरी धादिङको खनियाँबास गाउँपालिका वडा नम्बर १ की मरिमाया तामाङ १७ वर्षदेखि बेपत्ता छिन् ।
घरबाट साउदी अरव जान हिँडेकी छोरी मरिमाया बेपत्ता बनेपछि आमा सान्द्रीमायाँ र उनका दुइ भाइको दैनिकी मरिमाया खोजेरै बितिरहेको छ ।अरू दुई जना छिमेकीसहित धादिङबेंसीमा भेटिएकी सान्द्रीमायाँ तामाङले छोरी भेटिन्छ भन्ने आशा बाँकि रहेको बताउनुभयो ।
संचारकर्मीहरुलाई छोरीको बारेमा जानकारी दिँदै तामाङले भन्नुभयो, ‘पैसा कमाएर आउँछु भनेर विदेश गएको छोरीसँग जम्मा दुई पटक फोनमा कुरा भयो । साउदी गएको १७ वर्ष भयो । न छोरी घर फर्किइन्, न सम्पर्क भयो । मेरो छोरी खोजिदिनुस् न है।’
गाउँकै शेरबहादुर तामाङले छोरीलाई विदेश पठाइदिन्छु भनेर पासपोर्ट बनाएर लगेका थिए ।‘२०६३ साल पुषमा छोरी घरबाट निस्केर गइन् । २०६३ सालकै माघ २ गते दिल्लीबाट साउदिअरब उडेको भन्ने खबर समेत घरमा छ । ‘विदेश गएपछि छोरीले साथीको फोनबाट दुइ पटक फोन ग¥यो । तर साथीले जागिर छाडेर जान लागेको छ भन्थ्यो । त्यसपछि छोरीसँग बोली मिसिएको छैन’ आँखाभरि आँसु पार्दै सान्द्रीमायाँले भन्नुभयो ।
छोरी खोज्न चिनेजानेका सबैलाई अनुरोध गरेको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो ‘गाउँ टोल तथा छरछिमेक, देश विदेश सबैलाई भनिसकेँ । तर छोरीको अझै पत्तै लागेन । उनका दुइ मामाको सहारा लिएर छोरी खोजिरहेको छु । मैले पहिले छोरी भेट्छु कि भगवानले मलाई पहिले भेट्छन् । त्यही दिनको प्रतीक्षामा छु’ ‘छोरीलाई विदेश पठाउन २०६३ सालमा गाउँकै शेरबहादुरलाई घरमै लगेर ५० हजार रुपियाँ दिएको तर अहिले शेरबहादुरले मैले विदेश पठाएको होइन भनेर बहाना गरेर टार्ने गरेको उहाँको भनाई छ।
उहाँले भन्नुभयो ‘१२ वर्षमा खोली फर्कन्छ भन्छन् । छोरी बेपत्ता भएको पनि १७ वर्ष बित्यो । तर छोरी फर्किनन्, न छोरी सम्पर्कमा आइन्, न मेनपावर कम्पनी थाहा छ, न विदेश पठाइदिएको मान्छे जिउँदो छ । छोरी खोजेरै मेरो जीवन बित्ने भयो।’
सान्द्रीमायाँले छोरी विदेश पठाइदिने गाउँकै शेरबहादुर हो भन्ने दाबी गर्नुहुन्छ।
तर शेरबहादुरले भने आफूले विदेश नपठाएको जिकिर गरेका छन् ।‘मैले विदेश पठाउने एक जना रुवीभ्यालीको कान्छिमायाँ तामाङसँग भेटाइदिएको हो । त्यसपछि कसरी गयो, के भयो मलाई थाहा भएन । विदेश चाहिँ गएको हो । केही पटक मसँग पनि फोनमा कुरा भयो’ शेरबहादुर भन्नुभयो ।
‘लागुऔषध मुद्दामा म ११ वर्ष जेल परेँ । मलाई भेट्न आउँदा पनि मैले सान्द्रीमायाँलाई त्यही दिदीकोमा पठाएको थिएँ । पछि के भयो मलाई थाहा भएन । अहिले त विदेश पठाइदिने त्यो दिदी दमको कारण मृत्यु भई सक्यो रे । गाउँकै बहिनी हो, कसरी खोज्ने मलाई पनि चिन्ता छ’, शेरबहादुर भन्नुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |