धादिङ,०२ आषाढ ।
प्रदीप कोइराला
उसो त हिउदयाम भरि षडानन्दको घरमा कोहि पनि पाहुना आउदै आएनन।
ति दिनहरुमा षडानन्द कोहि न कोहि पाहुनाको विशेष प्रतिक्षामा रहेका हुन्थे।
बर्खा सक्कीए लगत्तै चाडवाड तथा हिउदको लागि आवश्यक सरसामानको जोहो गर्न हप्ता दिन अघि बेचबिखन गर्ने अन्नपात लादिएको चुली डोकोको भारी तालुमा अड्याएर एक झुण्ड गाउँले सहित नेपाल हानिएका षडानन्द बल्ल घर फिरे । पिढिको डिलमा टुसुक्क डोको बिसाए पछी खुइय गरेर लामो सास फेरे ।
घर देखि नेपाल र नेपाल देखि घरसम्म भारी बोकेर एकहप्ता सम्मको निरन्तर यात्रामा तल्लीन शरिरको शिथिलतालाइ मतलब नै नगरि उनले नेपालमा किनेर डोकामा खात लगाइ राखिएका एकाएक सामानहरु निकाल्दै पिढिमा असरल्ल फिउजाउन थाले । छेउमै अम्खरामा पानी बोकेर उभिइरहेकि उनकि बाहुनि कौतुहलता र आशमा बुढाको पारा हेर्दै गइन ।
सवै सामानहरु लाई पिडी भर फैलाएपछि षडानन्दले डोकोको पिधबाट नया मजेत्रोमा गाठो पारिएको पोको आफ्नी बाहुनिको हातमा थम्याउदै जतनका साथ राख्न सुझाए ।बडो आश्चर्य र कौतुहलताका साथ बुढाले आफूतिर पसारेको पोको समाउँदै काइली बज्यैले आफ्नो खसमको अनुहारमा एकटकले हेरिरहिन् ।
असरल्ल पारिएका सामानहरुलाई यथास्थितिमा छाडेर षडानन्द फलैंचामा उक्लिएर लखतरान शरीरलाई बिसाउँदै सुस्ताउन लागे। कोही नबोली उनको क्रियाकलाप हेरिरहेको उनकी श्रीमती बज्यै अब भने भुइँमा फिजारिएका सामानहरूलाई एकाएक सम्हालेर थनक्याउन तर्फ लागिन् ।
सवै सामानहरुलाई थनक्याई सकेपछि काइली बज्यैले बडो कौतुहलताका साथ हतार हतार आफूलाई दिइएको मजेत्रोको पोको खोलेर हेरिन् । त्यस मजेत्रो भित्र हल्का गुलावी रंगका एक धार्नी जती आलुहरु पोको पारिएका रहेछन् । आफू माछा मासु नखाने भएर होला चाडबाडमा आलु को तरकारी खान पाउने रहरमा खुशी हुँदै बज्यैले ति आलुहरुलाई माथिल्लो तलाको धानको ढुकुटी नजिकै चाल्नुमा बडो हिफाजतका साथ फिजाएर राखिदिइन्।
ति दिनहरुमा पहाडमा आलु फलाउने चलन थिएन। पहाडमा आलु उपभोग गर्न नेपालबाट नै बोकेरै लेराउनु पर्दथ्यो। तसर्थ पहाडमा आलुको उपस्थिति दुर्लभ नै थियो। त्यसैले गाउँमा घरमा आलु राखेका परिवारहरूको इज्जत पनि ठूलै थियो । त्यो बेलामा गाउँका ऐरे – गैरेहरुको फोगटमा आलुको स्वाद चाख्ने हैसियत स्थापित बनी सकेको हुदैन थियो।
घरमा आलु साँचेर राख्ने मान्छेहरुलाई गाउभरका मान्छेहरुले खुव इज्जत दिएर तारिफ गर्दथे। आलुले उनीहरूको इज्जत र प्रतिष्ठाको उचाइलाई ह्वात्तै बढाउथ्यो । उसो त उतिबेला घरमा आएका पाहुनाहरुलाई आलु तरकारी पस्किएर खुवाउने मान्छेको प्रतिष्ठा निकै नै उच्च हुनेथियो भने आलु खाएर जिब्रो रसस्वादन गर्ने पाहुनाहरुले समेत आफूलाई पाहुना स्वागतको राम्रै खातिरदारी दिइएको महसुस गर्दथे। पाहुना लाग्न जाने हरु पानि प्राय खानामा आलुको केही न केही परिकार लेराइदिए हुन्थ्यो भन्ने आशा जाग्दथ्यो ।
यसर्थ समाजमा आलुको अस्तित्वलाई सामाजिक मान ,प्रतिष्ठा ,रवाफ र धाकको एउटा नमुनाको रुपमा स्थापीत गराइएको थियो। मौसम अनुकूल उत्पादन गरिने स्थानीय तरकारीहरुको वीचमा आलुले निकै उच्च स्थानको रवाफीलो हैसियत स्थापित गरेको थियो ।
एकातर्फ गाउँमा अन्य तरकारीहरुको तुलनामा आलुको हैसियतले राम्रै स्थान ओगटेका हुँदाहुँदै पनि नेपाल उक्लिएर आफूले बोकी ल्याएको मास , चामल लगाएतका अन्य खाद्य सामग्रीहरू नरदेवी निवासी साहिला वाडाको पसलमा बेची हिउँदे सर सामानको जोहो गर्न बजार निस्किएका ढाक्रेहरुको प्राथमिकतामा भने आलुको स्थान निकै कम थियो ।
डोकोमा अन्य अत्यावश्यक सामानहरु हालिसकेपछि केही स्थान खाली भएको अवस्था र गोजीमा केहि सिक्का बचत भएको अवस्थामा मात्र आलुले काठमाण्डौबाट पहाडमा झर्ने मौका पाउँदथे।
नत्र पहाडको लागि आलुको स्वाद नेपाल गएका ढाक्रेहरुको जिब्रोसम्म मात्र सीमित रहन्थ्यो। जे होस् यो साल आलुले षडानन्दको डोकोमा भने गति लै ठाउँ ओगाटेको थियो। घरमा आलु भित्र्याए सँगै समाजमा बढ्ने रवाफ र प्रतिष्ठा को रहर झाँगिए पछि डोकोलाई थिचेको आलुको बोझलाई समेत षडानन्द ले कुनै परवाह गरेका थिएन।
उक्त हिउँदयाममा कोही न कोही पाहुनालाई आलु तरकारीले आतिथ्य सत्कार गरेर आलु खुवाउन सक्ने व्यक्तिको रुपमा रवाफ फिजाउने अवसरको अपेक्षा गरेका षडानन्दले मनको धोको मेटाउने अवसर पाउँदै पाएनन् । बित्दै गरेको दिनहरु र चाउरिदै गरेका आलुहरु वीचको बैरिभावको रेखाले षडानन्दलाई बडो विखालवान्दिमा परिरहेको थियो ।
हिउँद अझै कसिलो सँग छिप्पदै थियो , चाल्नाभरी फिजारिएका आलुहरुले चाउरिएर आधा आयतनको रूप धारण गरिसकेका थिए । आलुको छाला चाहुरिए सँगै षडानन्दको मनोकांक्षा पनि साघुरिदै गएको थियो। पाहुनालाई आलुको तरकारी खुवाएर अन्य गाउँहरूमा समेत आलु खुवाउन सक्ने व्यक्तित्वको छवि बनाएका एकाध गाउँलेहरु कै हाराहारीमा आफ्नो परिचयलाई उभ्याउने षडानन्द को चाहना आलु चाउरिए जसरी गइरहेको थियो।
काम विशेषले काइली बज्यै माथिल्लो तलामा उक्लिईन्। ह्वास्स आएको नमिठो गन्धले एकाएक उनको नाक भरिदियो। फोक्सा नै छेड्ने यस्ता दूषित गन्ध सायद विरालोको काट्टो हुनसक्ने कुराको लख काटिन। दिग्दारी र वेचैनिकाका साथ बज्यैले उक्त तलाको हरेक कुनामा मसिनो गरी आँखा दौडाईन तर केही देख्न सकिनन्।
अनायासै उनले आँखाले चाल्निमा फिजारिराखेको आलुको थुप्रोमा पुग्यो। उनी विस्तारै आलु नजिक गएर आलु लाई ओर्काई फर्काई हेरिरहीन्। एकछिन पछि उनी बचे खुचेको आलु केलाएर टुक्र्याउन थालिन्। त्यसपछि त्यसलाई भान्सामा लागेर मस्यौरा मिसाएर बडो हिफाजत का साथ पकाइन् र आज बिहानको भोजनमा आफ्नो खसमलाई स्नेहपूर्वक त्यही आलुको तरकारी पस्कने विचार गरिन्।
काम विशेषले बाहिर गएका षडानन्द विहानी प्रहरको समाप्ति सगै घर आइपुगे। श्रीमतीबाट भान्साको लागि विशेष आमन्त्रण प्राप्त गरे सकेपछि टाटना बाट धोती निकालेर पहिरिए अनि अंखोराबाट पानी खन्याएर हात मुख धोई भान्सामा छिरे। कासको थालमा र कचौरामा श्रीमतीले भात र दाल अगाडि पस्केर राखिदिइन्।
षडानन्द अंखोराको पानी हातमा हालेर थालको वरिपरि पनि घेरा बनाउँदै मन्त्रोच्चारणका साथ औशनि हाल्न थाले। त्यसपछि श्रीमतीले बडो आदर भाव र स्नेहका साथ कास को कचौरा भरेर आलु र मस्यौराको तरकारी अगाडि सारिदिइन। मुखमा भातको गास हाल्न लागेको षडानन्दको हात एक्कासी रोकियो।
अघि सम्म कान्ति फैलिएको उनको मुहारमा एकाएक क्रोधले रजाइगर्न थाल्यो। बडो कौतुहलतामा मन्द मुस्कानका साथ श्रीमानको मुहारमा आलु खाँदा देखिने खुशीका धर्साहरु नियाल्न एकटकले उनैको मुहार हेरिरहेकी काइली बज्यैको अनुहार त्रासमय भावमा कालोनिलो देखियो। ठूला ठूला आँखा पारेर षडानन्दले क्रोधित चेहरामा घरी तरकारी त घरी श्रीमतीको अनुहारलाई नियाल्न थाले। हठात् श्रीमानको रौद्र स्वरूप देखेर काइली बज्यै बडो विस्मातमा परिन्।
उनीलाई के बोलूँ के नबोलु भयो । श्रीमानको मुहारबाट आँखा हटाएर एकटकले भुइँमा मात्र हेरिरहिन्। महिनौदेखि आलुसँगै साँचेर राखिएको षडानन्द रवाफको सोखको मतलव अब एकाएक अवशान हुन पुगेको थियो। गाउँमा आलुले स्थापित गरिदिएको एकाध व्यक्तिको सामाजिक हैसियतसंग आफूलाई पनि बराबरी गर्ने षडानन्द को अठोट गर्ल्याम्म ढलेको थियो ।
केही नबोली पस्किएको खाना छोडेर उनी जुरुक्क उठे र रछ्यानमा गएर हात पखाले। त्यसपछि चिसै हात लिएर बस्तुभाउ फुकाउँदै गोठाला तर्फ लागे। पश्चातापको रागमा पिल्सिएर काइली सुक्क सुक्क गर्दै भान्छामा छरपस्ट रहेका भाँडाहरू थन्क्याउन तर्फ लागिन्।
(लेखक हाल एउटा सरकारी विद्यालयको अङ्ग्रेजी भाषाको शिक्षक हुनुहुन्छ)
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |