धादिङ,२२ बैशाख।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ स्थित अल्छिडाँडामा विपद पुर्व तयारी तथा प्रतिकार्य अभ्यास गरिएको छ ।
शुक्रबार शिवदल गण गजुरी व्यारेक धादिङको आयोजना तथा व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी बल आश्रित गुल्म र रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको समन्वय तथा सहयोगमा विपद पुर्व तयारी तथा प्रतिकार्यको लागि संयुक्त अभ्यास गरिएको हो ।
अल्छिडाँडास्थित खेलमैदान माथिको पहिरोमा पहिरोबाट बच्ने उपाय, पहिरोमा परेकाहरुको उद्धार कसरी गर्ने भन्ने लगाएतका बिषयमा नमूना अभ्यास गरिएको हो ।
अभ्यास प्रदर्शनीको क्रममा नीलकण्ठ नगरपालिका वडा नं ४ मा पहिरो जाँदा वेपत्ता भएका चारजनाको उद्धार गरी उपचारार्थ अस्पताल लगिएको नाटक गरिएको थियो। पहिरोले घाईते भएकाहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले घट्नास्थलबाट उद्धार गरी अस्पताल पठाएको तथा बेपत्ताको खोजी गरेको देखाइएको थियो।
वर्षायाम सुरु भएसँगै जिल्लाका बिभिन्न स्थानमा संभावित पहिरोबाट बच्न र पूर्व तयारी गर्नेबारे जनचेतना जगाउने उद्धेश्यले प्रतिकार्य अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताउनुभयो । अभ्यासको क्रममा पहिरोबाट बँच्न पूर्व तयारी, घाईतेको उद्दार र उपचारबारे जानकारी गराउन नमूना अभ्यास प्रदर्शनी गरिएको बताउनुभयो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले धादिङ अधिकाँश पहाडी भूभागले भरिएको जिल्ला भएकाले पहिरोको जोखिम धेरै रहेको हुँदा यो पहिरोलक्षित सचेतना, पूर्व तयारी, उद्धारको बिषयमा यस्तो नमूना अभ्यास प्रदर्शनीले पहिरो व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताउनुभयो । हरेक वर्षायाममा पहाडी भेगमा पहिरोको जोखिम हुने भएकाले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गर्नुभएको छ।
संयुक्त अभ्यासलाई मनसुन ३ अभ्यास नामाकरण गरिएको छ। संयुक्त अभ्यासले जिल्ला स्तरमा उपलब्ध क्षमता,मानवीय सहायतामा संलग्न निकायहरुको पहिचान, प्रतिकार्यको साझा मापदण्ड तयार र खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।अभ्यास कार्यक्रममा वडाअध्यक्षहरु,रेडक्रसकर्मी, एनसिसि तालिम प्राप्त विद्यार्थीहरु, स्थानीय युवा, तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |