आज फागुन पुर्णिमा,आज पहाडी जिल्लामा होली खेलेर मनाईदै छ ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली फागु खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् ।
निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ ।
बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंदै आएको छ ।
भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले होली पर्व अर्थात् फागु पूर्णिमालाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ।
प्रशासनले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छा विपरीत रङ नदल्न, होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको हो ।
रङ्गहरुको माध्यमबाट एकापसमा खुसी साटासाट गर्ने यस पर्व मनाउने नाममा व्यक्तिको इच्छाविपरित जथाभावी रङ्ग लगाउने, लोला तथा फोहोर पानीले हान्ने, बाटो ढुकेर बटुवालाई रङ्ग दल्ने/लोला हान्ने, बाटो अवरोध गरी सवारी साधनहरुबाट रकम असुल्ने, मादक तथा नशालु पदार्थको सेवन गर्ने/गराउने, सामाजिक तथा धार्मिक सद्भाव विथोल्ने अवाञ्छित तथा उछृङ्खल किसिमका कार्यहरु नगर्न/नगराउन र प्रचलित मूल्य मान्यता एवं परम्परालाई निरन्तरता दिई मर्यादित रुपमा पर्व मनाउन सवैमा अनुरोध छ,प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलद्धारा सूचनामा भनिएको छ।
साथै सूचनाको अवज्ञा गरी प्रचिलत कानून, सामाजिक सद्भाव, शान्ति सुव्यवस्था एवं व्यक्तिगत स्वतन्त्रता विरुद्धका कार्य गरे/गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने सूचनामा भनिएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |